काठमाडौँ, १७ भदौ : जननायक बिपी कोइराला स्मृति ट्रष्टद्वारा स्थापित बिपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार डा बेन्जु शर्मा (काठमाडौँ) लाई अर्पण गरिने भएको छ । सो पुरस्कारको राशिरु एक लाख सहित सम्मानपत्र रहेको छ ।
ट्रष्टको सोमबार बसेको पुरस्कार छनोट समितिको बैठकले यस वर्षको बिपी सेनानी सम्मान पुरस्कार, प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका अर्जुन खड्का (उदयपुर)लाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि नगद रु ५१ हजार तथा सम्मानपत्र रहेको छ ।
यी दुवै पुरस्कार जननायक बिपी कोइराला स्मृति ट्रष्ट पुरस्कार छनोट समितिका संयोजक रामचन्द्र पोखरेल, सदस्यद्वय किरण यादव र हरिप्रभा श्रेष्ठ खड्गीको निर्णयबाट प्रदान गर्ने निर्णय गरिएको हो । दुवै सम्मान पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा यही भदौ २४ गते राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने जनाइएको छ ।
गत वर्ष २०८१ को साहित्य सम्मान द्वारिका श्रेष्ठ (काठमाडौँ) र प्रजातन्त्र सेनानी सम्मान भोजराज भण्डारी (कास्की)लाई प्रदान गरिएको थियो । यी सम्मान तथा नगद पुरस्कारहरू बिपी ट्रष्टले जननायक बिपी कोइरालाको शतवार्षिक वर्ष २०७१ बाट निरन्तर प्रदान गर्दै आइरहेको छ ।