कञ्चनपुर, १७ भदौ : डुबानमा परेका दोधरा चाँदनी नगरपालिकाका तीन वडाका विस्थापित बासिन्दा अझै घर फिर्ता हुनसकेका छैनन् । दुई दिनअघिदेखिको अविरल वर्षाका कारण जोगबुढा नदीमा आएको बाढीका कारण ती परिवार विस्थापित भएका थिए ।
बस्ती अझै डुबानमै रहेकाले विस्थापित परिवार घर फिर्ता हुन नसकेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीको बाढी बस्ती पस्दा ५४ घर डुबानमा परेका छन् । डुबानमा परेका दुई सय १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
विस्थापनमा परेका परिवार नजिकको विद्यालयमा बस्दै आएका छन् । नदीको बहाव घट्दो रूपमा रहेकाले अवस्था यही रहे साँझसम्म विस्थापनमा परेका परिवार फर्कन सक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।
डुबानमा परेर विस्थापनमा परेका नगरपालिकाको वडा नं ८ रामपुरे टापुर जर्गा टोलका २५ घरका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छभने वडा नं ३ पटरा खल्ला टोलका १५ घरका ५५ जनालाई सरसामान र चौपायासहित जमुना आधारभूत विद्यालयमा राखिएको छ ।
त्यसैगरी, वडा नं १० शान्ति टोलका १२ घरका ४० जनालाई अम्विका माध्यमिक विद्यालयमा राखिएको छ । सोही वडाको सुन्दरनगरमा रहेको सशस्त्र प्रहरीको बिओपीमा कार्यरत २३ जनालाई ओमकार आधारभूत विद्यालय र कञ्जभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ । समयमै उद्धारकार्य गरिँदा बाढीजन्य विपद्का कारण हुने अप्रिय घटना भने हुन नपाएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो ।
उहाँका अनुसार महाकाली नदीमा पानीको बहाव घट्दो क्रममा रहेको छ । आज बिहान ७ः०० बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख ७१ हजार ९१३ क्यूसेक रहेको छ । सीमा पुल बनवसामा चारपाङग्रे सवारीसाधन भने अझै सञ्चालन हुनसकेका छैनन् ।
नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि सुरक्षाका कारण पुलमा चारपाङग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिन्छ । सोमबार साँझ ५ः०० बजे महाकाली नदीमा यस वर्षकै बढी पानीको बहाव दुई लाख ७१० क्यूसेक पुगेको थियो ।