भदौ १७, २०८२ मंगलबार

गण्डकी, १७ भदौः फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्न स्थानीय तहहरूबीच असल अभ्यास, प्रविधि र सीप आदानप्रदान गर्नुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिकाको टोलीद्वारा दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको फोहरमैला प्रशोधन केन्द्रको अवलोकनमा क्रममा सहभागीले फोहरमैला व्यवस्थापन गर्न अन्तरपालिका सहकार्य र समन्वय आवश्यक भएकामा जोड दिएका हुन् ।

फोहर व्यवस्थापनको काम चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँहरूले यसका लागि सामुदायिक सचेतना र जनसहभागिता महत्त्वपूर्ण हुने बताउनुभयो । राप्ती–२ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पहलमान चौधरीले जोखिम मोलेर फोहर व्यवस्थापनको काम सुरु गरेको बताउनुभयो । फोहर व्यवस्थापन गर्न ठाउँ पाउनै मुश्किल भएको र स्थानीय समुदायको अवरोध खेप्नुपरेको बताउनुभयो । राप्तीले देउखुरीको पुड्यपुरमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ ।

‘इको फेमिली नेपाल’को प्राविधिक सहयोगमा दुई वर्षअघिदेखि फोहर व्यवस्थापन र प्रशोधनको काम गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो । फोहर प्रशोधन गर्न जग्गा व्यवस्थापन र संरचना निर्माण गर्ने काम गाउँपालिकाले गरेको तथा उपकरण, जनशक्ति र अन्य प्राविधिक तथा व्यवस्थापकीय काम इको फेमिली प्रालिले गरेको हो । इको फेमिलीका सञ्चालक रूपेशराज कुँवरले उद्योग सञ्चालनका लागि रु तीन करोड लगानी भएको बताउनुभयो । प्लास्टिकजन्य फोहर प्रशोधन गरेर ब्रिक्स, टायल, लम्बरलगायतका वस्तु उत्पादन गर्न थालिएको उहाँको भनाइ छ । 

“कुहिने फोहर कम्पोस्ट मलमा जान्छ, नकुहिनेमा विशेषगरी प्लास्टिकजन्य फोहरबाट सामान उत्पादन भइरहेको छ”, उहाँले भन्नुभयो । काम नलाग्ने भनेर फालेको वस्तुलाई स्रोतका रूपमा सदुपयोग गरी आयआर्जन र उद्यम सृजना गर्ने उद्देश्यले फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको सञ्चालक कुँवरले बताउनुभयो ।

निजी–सार्वजनिक लगानीअनुरूप उक्त केन्द्र सञ्चालनमा रहेको वडाध्यक्ष चौधरीले बताउनुभयो । फोहर सङ्कलन र वर्गीकरणको काम गाउँपालिकाले गर्दै आएको छ । इको फेमिली नेपालले कवाडीमा जाने सामानको निकासी कर र व्यवसाय कर गाउँपालिकालाई तिर्दै आएको छ । कम्पनीले फोहर वर्गीकरण र कुहिने फोहर गलाउने उपकरण खरिद गर्ने भएको छ । प्रशोधन उद्योगमा २१ श्रमिक कार्यरत छन् । त्यहाँ उत्पादित ब्रिक्स र टायल बजारमा जान थालेको छ ।

पोखरा महानगरपालिकामा सञ्चालित रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सृजना परियोजनाका सहजकर्ता नेत्र तिमिल्सिनाले राप्तीले सुरु गरेको फोहर व्यवस्थापनको काम अनुकरणीय रहेको बताउनुभयो । “राप्तीले गरेको राम्रो काम हामीलाई सिकाइ हुन्छ, पोखराले गरेको अभ्यास राप्तीलाई अनुकरणीय हुनसक्छ”, उहाँले भन्नुभयो, “फोहर व्यवस्थापनमा नमूनायोग्य काम गरेका स्थानीय तहमा पुगेर सीप र अनुभव हासिल गर्न यो अवलोकन भ्रमणको आयोजना गरिएको हो ।”

पोखरा महानगरपालिकाले कोरिया अन्तरराष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सृजना परियोजना’ सञ्चालन गरेको छ । परियोजनामार्फत हालको अभ्यासः प्रयोग गर्ने र फाल्ने ‘थ्रो अवे’को सट्टा चक्रीय अर्थतन्त्र प्रणालीमा आधारित रिसाइक्लिङ÷अपसाइक्लिङ उद्यम स्थापना गरी हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको हो ।

हरित रोजगारी प्रवर्द्धन गर्दै ठोस फोहरमैलाबाट सृजना हुने प्रदूषण तथा नकारात्मक वातावरणीय प्रभावलाई न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ । परियोजनाले फोहर सङ्कलन तथा ढुवानी र वर्गीकरणका लागि सामुदायिक सचेतना अभिवृद्धिको काम पनि गर्दै आएको सहजकर्ता तिमिल्सिनाले बताउनुभयो । परियोजनाले पोखराका एक सय ३६ टोल संस्थामा जनचेतना अभिवृद्धि अभियान सञ्चालन गरेको छ । घरमै फोहर छुट्याउने बानी बसाल्न प्रेरित गर्न घरघरमा फोहर छुट्याउने कीट प्रदान गरिएको छ ।