भदौ १८, २०८२ बुधबार

काठमाडौँ, १८ भदौः चीनमा सम्पन्न सांघाई सहयोग संगठन ( एससिओ) सम्मेलनमा चीन र भारत नजिकिएसँगै  विश्व शक्ति एसियामा केन्द्रित भएको विज्ञहरुले बताएकाछन् । 

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता तथा नेपाल- चीन कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा  फ्रेन्डस अन क्लाउडले गरेको कार्यक्रममा उनीहरूले चीन- भारत एकताको लाभ नेपालले उठाउन सक्नुपर्ने बताएकाहुन् । 

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेशराज दाहाल, जापानका लागि नेपालका पूर्व राजदूत डा. बिष्णुहरि नेपाल,प द्वन्द्व विशेषज्ञ डा. बिष्णुराज उप्रेती, एमालेका विदेश विभाग सदस्य गोपाल खनाल र  क्लाउडका अध्यक्ष शोभित उप्रेतीले प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटवार्ता र प्रस्तुतीकरण कुटनीतिक क्षेत्रमा कोशेढुंगा सावित भएको उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले उठाएको सीमा विवादको सन्दर्भलाई चिनियाँ पक्षले नोटमा लिएको दाबी गर्दै उनीहरूले त्यसको परिणाम समयक्रममा देखिने धारणा राखे । 

भारत र चीनको एकतामा रुसपनि एकसाथ रहेकाले पश्चिमा शक्ति कमजोर हुँदै गएको उनीहरुको ठहर छ । एससीओ सम्मेलनपछि एसियामा विकासको गति पनि तीव्र हुने उनीहरूको विश्वास छ । 

नेपालको समग्र विकासमा चीन र भारतको महत्त्वपूर्ण योगदान रहेकाले नेपालले कुटनीतिक कौशलता र सशक्त संवादमार्फत सीमा लगायतका समस्या समाधान गर्नुपर्ने उनीहरुको सुझाव छ । 

प्रधानमन्त्रीले विदेशी भूमिमा देशको पक्षमा अठान लिएकाबेला देशभित्र केही दल र नेताहरूले अनावश्यक भ्रम र हल्ला गर्नु दु:खद भएको उनीहरूले बताए । प्रधानमन्त्रीले जलवायु, कृषि, विकास, पूर्वाधार लगायत विश्व जगतका साझा मुद्दा पनि सम्मेलनमा उठाएको जानकारी उनीहरूले दिए ।