सिरहा, १८ भदौ : हुलाकी सडकअन्तर्गत सिराहाको औरही, बरियारपट्टि, तथा नवराजपुर गाउँपालिका क्षेत्रका सडक किनारमा वृक्षरोपणका लागि खर्च गरिएको लाखौँ रुपैयाँ बराबरको लगानी संरक्षणको अभावमा खेर गएको छ ।
डिभिजन वन कार्यालय लहानले पछिल्ला दुई आर्थिक वर्षमा करिब रु ५१ लाख खर्च गरेर रोपेका अधिकांश बिरुवा सुकिसकेका छन्भने बाँचेका बिरुवा पनि ओइलाउने अवस्थामा पुगेका छन् । आर्थिक वर्ष ०८१÷८२ मा बरियारपट्टि गाउँपालिका क्षेत्रमा रु ३९ लाख खर्चेर चार हजार ६५० बिरुवा रोपिएको थियो । जसमध्ये रु २५ लाख बजेटमा बेर्नासहित र रु १४ लाख बजेतमा बेर्नाविना आँप, गुलमोहर, जामुनसहितका बिरुवा रोपिएको भए पनि आधाभन्दा बढी बिरुवा सुकिसकेको डिभिजन वन कार्यालयको प्रारम्भिक अध्ययनमा देखिएको छ ।
त्यस्तै, आर्थिक वर्ष ०८०÷८१ मा औरही गाउँपालिका क्षेत्रको साढे छ किलोमिटर सडक किनारमा रु १२ लाख ५० हजार खर्चिएर गरिएको वृक्षरोपणमा समेत ठूलो संख्यामा बिरुवा सुक्न पुगेका छन् । कतिपय स्थानमा घारी र झाँडीले जेलेको अवस्था छ ।
औरही गाउँपालिका–४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले गणेशपुर चोक क्षेत्रमा रोपिएका करिब ५०० बिरुवामध्ये जम्मा ८०÷९० वटा बिरुवा मात्र बाँचेको बताउनुभयो । उहाँले भन्नुभयो, “वनले वृक्षरोपण त गर्छ, तर संरक्षणका लागि बजेट र कार्यक्रम नै राख्दैन लाखौँ खर्चिएर बिरुवा रोप्ने मात्रै काम भइरहेको छ ।”
सहजा जरुवा खोलाको किनारमा टाँगिएको होर्डिङ बोर्डमा वृक्षरोपण विवरण त उल्लेख छ, तर वरपर बिरुवाको नाम निसान छैन । स्थानीय बासिन्दा चन्द्रदेव यादवले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “वनको कागजमा बिरुवा देखिन्छ, तर जमिनमा हुँदैन । बिरुवा रोपिसकेपछि त्यसको संरक्षण पनि उत्तिकै जरुरी हुन्छ, तर त्यसमा ध्यान दिइएको पाइएन ।”
अर्का स्थानीय सुनील यादवले वृक्षरोपण सफल बनाउन जनचेतनाको आवश्यकता औँल्याउनुभयो । उहाँले बिरुवा हुर्किएर रुख भएपछि स्थानीयले नै लाभ उठाउँछन् भन्ने कुरा स्थानीयलाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले भने स्थानीयको असहयोगका कारण बिरुवा संरक्षणमा समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिरुवा उखेल्ने, ट्रिगार्ड चोर्ने, पानी हाल्न नदिनेजस्ता व्यवहारले धेरै बिरुवा नष्ट भएका छन् ।” उहाँका अनुसार बलौटे माटो, पानीको अभाव, गाईबस्तुको चरिचरण र मानिसको आवतजावतका कारण सडक किनारमा बिरुवा हुर्काउन थप चुनौती रहेको छ ।
उहाँलेभन्नुभयो, “अबदेखि रोपेपछि सम्बन्धित वडा कार्यालयसँग समन्वय गरेर हेरचाहको लागि छुट्टै बजेट विनियोजन गरिन्छ ।”