काँक्रेविहार (सुर्खेत), १८ भदौ : यातायत व्यवस्था कार्यालय सुर्खेतको सेवा प्रवाहलाई छरितो, पारदर्शी र जनमैत्री बनाउन ‘एकल बिन्दु’ सेवा प्रवाह प्रणाली लागू गरिने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिको बैठकले सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयबाट त्यस्तो सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
एकल बिन्दु सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राहीलाई एउटै स्थानबाट सेवाग्राहीलाई सम्पूर्ण यातायातसम्बन्धी सेवा प्रवाह हुनेछ । हालसम्म सवारीसाधन दर्ता, नवीकरण, कर तिर्ने, जरिवाना भुक्तानी, सवारी साधन जाँचपास, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी प्रक्रियाको लागि सेवाग्राहीले विभिन्न काउन्टर धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । यो सेवा लागू भएपछि समयको बचतका साथै सेवाप्रवाहमा पारदर्शिता बढ्नेछ ।
मुख्यमन्त्री कँडेलले सेवा सञ्चालन भएसँगै आमनागरिकलाई यातायातसम्बन्धी सेवा लिन ढिलाइ नहुने बताउनुभयो । उहाँले एकल विन्दु सेवा केन्द्र सञ्चालन भएसँगै एकैस्थानबाट छिटो र पारदर्शी सेवाप्रवाह हुने विश्वास व्यक्त गनुभयो ।
बैठकमा प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमअन्तर्गत गत आव २०८१/८२ को वार्षिक कार्यक्रम तथा बजेटको समीक्षा, आव ०८२/८३ को स्वीकृत कार्यक्रम तथा बजेटकाबारे सदस्यहरूलाई जानकारी गराएको छ ।