भद्रपुर (झापा), १९ भदौः गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम बुधबार बिर्तामोडमा सम्पन्न भएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा भएको कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तरराष्ट्रिय गुणस्तर सङ्गठन(आईएसओ) प्रमाणपत्र तथा विभागअन्तर्गतका कार्यालयले प्रदान गर्ने सेवाबारे जानकारी दिइएको थियो ।
विभागका निर्देशक पारसमणि यादवले नेपाल गुणस्तर चिह्न र आइएसओ प्रमाणपत्र तथा जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख रजनिस झाले कार्यालयमार्फत प्रदान गरिने सेवाबारे जानकारी दिनुभएको थियो ।
कार्यक्रमका सहभागी उद्योगी, व्यापारी, उपभोक्ता, स्थानीय तहका प्रतिनिधिले गुणस्तर चिह्न, आइएसओ प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया र विभागका सेवाबारे जिज्ञासा राखेका थिए ।
त्यस अवसरमा नापतौल, ढकतराजु, उपभोक्ताको अधिकार र स्वदेशी उत्पादनको अन्तरराष्ट्रिय बजारमा बजारीकरणबारे पनि जानकारी दिइएको थियो ।