तुलसीपुर (दाङ), २० भदौ : तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा रहेको रक्त सञ्चार केन्द्रमा रगत वर्गीकरण गर्ने मेसिन छैन । विसं २०७४ देखि सञ्चालित कालिकादेवी रक्त सञ्चार केन्द्रमा अझै पनि रगत वर्गीकरण गर्ने (कम्पोनेन्ट मेसिन) नहुँदा रगत वर्गीकरणमा समस्या भएको छ ।
रक्त सञ्चार केन्द्रका इन्चार्ज नरेश चौधरीका अनुसार अहिले फ्रिजमात्र छ, रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन छैन । कसैलाई सेतो रक्तकोषिका चाहिएको हुन्छ, त्यसका लागि कि त घोराहीबाट कि त नेपालगञ्जबाट ल्याउनुपर्ने हुन्छ । अहिले पनि महिनामा २० जनाभन्दा बढीलाई सेतो रक्तकोषिका चाहिने गरेको छ, तर त्यो रगत नहुँदा कुनै बिरामीलाई ‘होलब्लड’ नै दिने गरिएको छ । अतिआवश्यक परेमा घोराहीबाट ल्याउने गरिएको छ ।
मेसिन भएमा रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटलेट रगत छुट्याएर जुन बिरामीलाई आवश्यक पर्छ, त्यसैलाई दिन सकिने चौधरीले बताउनुभयो । माग भइरहे पनि उक्त मेसिन नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ । हाल कम्पोनेन्ट मेसिन घोराहीमा मात्र छ । रेडक्रसले घोराहीमा सञ्चालन गरेको रक्त सञ्चार केन्द्रमा मात्र कम्पोनेन्ट मेसिन छ । प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको सहयोगमा रु ३५ लाखमा उक्त मेसिन ल्याइएको हो । हाल जिल्लामा सोही मेसिनबाट नै काम चलाउने गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अधिकृत विश्राम अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले घोराहीमा त मेसिन छ, तर त्यो पनि बिग्रियो भने कि त बुटबल जानुपर्छ कि भने नेपालगञ्ज जानुपर्छ । अहिले कम्पोनेन्ट मेसिन नभएकै कारण धेरै बिरामी जिल्लाबाट रेफर गर्नुपर्ने अवस्था छ ।”