काठमाडौँ, २० भदौः निजामती सेवा दिवस–२०८२ का अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वृक्षरोपण तथा सरसफाइ गरिएको छ ।
मन्त्रालयले आज बिहान आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
निजामती सेवा दिवसको पूर्वसन्ध्यामा आज आयोजित उक्त कार्यक्रममा ऊर्जामन्त्री खड्काले सुशासन कायम गरी छिटोछरितो रुपमा आमनागरिकलाई सेवा प्रदान गर्न कर्मचारी लाग्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीले आफ्नो हकअधिकारको संरक्षण गर्दैगर्दा दायित्वलाई नबिर्सनसमेत आग्रह गर्नुभयो ।
ऊर्जामन्त्री खड्काले ऊर्जा मन्त्रालयले विगतका वर्षदेखि नै डेङ्गी नियन्त्रण र सरसफाइ अभियानलाई सञ्चालन गर्दै आएको बताउनुभयो । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हुने भन्दै यस्ता सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।
जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले निजामती सेवा दिवसलाई यस वर्षदेखि फरक ढङ्गले मनाउने निर्णयअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । मन्त्रालयले गत वर्षदेखि नै हरेक हप्ताको शुक्रबार सरसफाइ कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनानाथ मिश्र, मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतलगायतको सहभागिता थियो ।
आजैदेखि सिंहदरबाभित्र काठमाडौँ महानगरपालिकाको स्वास्थ्य सेवा विभागको टोलीले समेत डेङ्गी नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । उक्त टोलीले सिंहदरबाभित्र पानी जम्ने सम्भावित क्षेत्रमा खोज तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।