भदौ २१, २०८२ शनिबार

काठमाडौँ, २१ भदौ: आख्यानकार मनु योङहाङद्वारा लिखित उपन्यास ‘सेक्मुरी फूल’ विमोचन गरिएको छ । मुन्धुम र बौद्ध दर्शनबीचको देशना, विमर्श र संवादमा आधारित उपन्यासको  आज यहाँ आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको हो । यो योङहाङको आठौँ कृति हो । 

    उपन्यासको विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले उपन्यासले पाठकलाई बौद्ध र लिम्बू दर्शनसँगै मुलुकमा विद्यमान जीवन दर्शनको परिचय गराउने बताउनुभयो । उहाँले उपन्यासमा मिथक र शैलिगत विचित्रताको प्रयोगबारे चर्चा गर्नुभयो । 

    “पाठकहरूलाई मुन्धुम दर्शन के हो भन्ने जानकारी हुन्छ । जीवन दर्शनका अन्य विषय जानकारी हुन्छ । हामी ज्ञान मिमांसाको क्षेत्रमा कति धनी छाँै भन्ने ज्ञान हुन्छ”, आयामेली कवि काइँलाले भन्नुभयो । 

    उपन्यासकार योङहाङले मुन्धुम दर्शन एक समुदायमा मात्र सीमित नहोस् भन्ने मनसायले सबै समुदायका पाठकमा यसका महत्त्व पु¥याउन उपन्यासले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसअघि आफ्नो कृति ‘थोक्फेला (लालीगुरासँको फूल)’ को प्रकाशनपछि पाठकको सुझावअनुसार नै यसपटक ‘सेक्युमरी फूल’ लेखिएको प्रसङ्ग उल्लेख गर्नुभयो । 

    “कतिपय पाठकले जीवनदर्शन बुद्धकालीन समय र किरातकालीन मुन्धुम परिवेशलाई आधार बनाइ एउटा कृति लेख्नुहोस् भनेपछि मैले विसं २०६५ मा यो पुस्तक तयार गरेको थिए”, लेखक योङहाङले भन्नुभयो, “यसमा मैले बुद्धकालीन घटना र समय, थेरबाद हीनयान सम्प्रदायमा आधारित भएर लेखेको छु । मुन्धुमी परिवेशलाई  पाठकसमक्ष पु¥याउने प्रयत्न गरेको छु ।” 
    
उपन्यासमाथि टिप्पणी गर्दै साहित्यकार कृष्ण धरावासीले मुन्धुमी जीवन दर्शनमा आधारित लेखनले हाम्रा दर्शनहरूको बलियो पक्ष साक्षात्कार गर्ने धारणा राख्नुभयो । “पश्चिम साहित्यका सिद्धान्त आए, आइरहेका छन् । ती सिद्धान्तलाई जस्ताको त्यस्तै अनुकरण नगरेर यी सिद्धान्तमा हाम्रो मुन्धुम, वेद, उपनिशदमा के समानता र भिन्नता छन् भन्ने लेख्न तथा अध्ययनबाट खोज्न आवश्यक छ”, उहाँले भन्नुभयो । 

    उपन्यासबारे डा सञ्जिव हुमागाईं, अनुपमा रेग्मी र दीपक लुङ्गेली मगरले समीक्षा गर्नुभएको थियो । उहाँहरूले यस उपन्यासमा बुद्धदर्शन र लिम्बू दर्शनको उठान गरिएकाले पठनीय रहेको बताउनुभयो । यस उपन्यासबाट जीवनको मूल्यमान्यता बुझाउने प्रयत्न गरेको वक्ताहरूको विश्लेषण थियो । 

    हिलिहाङ डटकमका लागि रीता थाम्सुहाङद्वारा प्रकाशित यस उपन्यासमा तीन भाग छन् । पहिलो भागमा आत्मनिष्ठताः उत्सुकता, दोस्रो भागमा आत्मबोध: देशना र मुन्धुम र तेस्रो भागमा आत्मसात्: प्रतिविम्ब रहेको छ । सेक्मुरी फूललाई किरात मुन्धुममा जीवनको प्रतीक मानिन्छ । लेखकको यसअघिको कृति थोक्फेलाको दोस्रो श्रृङ्खलाको रूपमा यस उपन्यासलाई लिइएको छ ।