भदौ २३, २०८२ सोमबार

गलकोट (बागलुङ), २३ भदौ : गत शनिबार साँझ बागलुङका मठमन्दिर युवाका भजनले गुञ्जिए । त्यसो त यो पहिलो पटक होइन । केही सातादेखि यहाँका मठमन्दिरमा हराउँदै गएको भजन सुनिन थालेको हो । भजन संस्कृति जोगाउँदै युवाहरुले भजन गाउन थालेका हुन् । 

    हिजोआज कहिले कालिका भगवती मन्दिर त कहिले गौरीधाम शिव मन्दिरमा जोसिला युवाहरु मादल, खैँजडी र मुजुराको तालमा भजन किर्तन गाइरहेका भेटिन्छन् । भजनमा नाच्नेहरु पनि जोसिला युवा नै हुन्छन् । 

    उनीहरुले आफुहरुलाई चर्चित फेसबुक ग्रुप ‘मेन्स रुम रिलोडेड’ (एमआरआर)का सदस्य बताउँछन् । धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु युवाहरुको कर्तव्य भएको उनीहरुको भनाइ छ । 

    एमआरआरमा बागलुङका १० युवामात्र सदस्य भएपनि उनीहरुको भजन किर्तन समुहमा युवाको सङ्ख्या उल्लेख्य रुपमा जोडिँदै गएका छन् । विभिन्न पेसा व्यवसायमा आवद्ध युवाहरु प्रत्येक शनिबार साँझ ५ बजेदेखि ७ बजेसम्म जम्मा भएर बितेको पाँच सातादेखि भजन किर्तन गरिरहेको समुहका सदस्य रोशन पौडेलले जानकारी दिनुभयो । 

    बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेराका २६ वर्षीय रोशन पौडेलसँगै काठेखोला गाउँपालिका–८ का २७ वर्षीय कुशल कंडेल, सोही ठाउँका हिमाल कंडेल, बागलुङ नगरपालिका–१४ का ओमकार सुवेदी, काठेखोला गाउँपालिका–६ का अर्जुन कंडेलसँगै अन्य युवाहरुले शनिबार र चाडपर्वका अवसरमा मठमन्दिरमा भेला भएर भजन किर्तन गर्न थालेका हुन् । 

    भजन समुहमा बैंक तथा वित्तिय संस्थामा काम गर्नेदेखि पेसा व्यवसाय गर्ने युवाहरु जोडिएका छन् । युवाका सरोकार, अप्ठ्यारोमाा परेकालाई सहयोग र रमाइला काम गर्दै आएका एमआरआरका सदस्यहरुले पछिल्लो समय भजन किर्तन सुरु गरेका हुन् । 

    पछिल्लो २८ महिनादेखि पोखरामा एमआरआरका सदस्यहरुले भजन किर्तन गर्दै आएको पौडेलले बताउनुभयो । काठमाडौँ, बुटवल, चितवन र बागलुङमा पछिल्लो तीन महिनायता भजन किर्तन सुरु गरेको उहाँको भनाई छ ।