कुश्मा नगरपालिकाले सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्ने भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण हुन थालेपछि आइतबार बसेको नगर शिक्षा समितिको बैठकले बन्द रहेका विद्यालय खोल्ने निर्णय गरेको हो। नगरप्रमुख रामचन्द्र जोशीले आगामी असोज १ गतेबाट सबै विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए।
नगरपालिकामा सङ्क्रमणको दोस्रो लहरपश्चात् वैशाखदेखि भौतिक उपस्थितिमा हुने पठनपाठन रोकिएको थियो। केही विद्यालयले अनलाइनमार्फत पढाइ सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले इन्टरनेटको असुविधाका कारण अनलाइन कक्षा सञ्चालन गर्न सकेका थिएनन्।
विद्यालयलाई अनिवार्यरुपमा स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरिएको नगरप्रमुख जोशीले बताए। नगरपालिकाभित्र ६७ सामुदायिक र १४ संस्थागत विद्यालयमा करिब नौ हजार विद्यार्थी अध्ययनरत छन्। मोदी, विहादी, महाशिला र पैंयुमा यसअघि नै भौतिक उपस्थितिमा विद्यालय खुलिसकेका छन्। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर स्थानीय तहले विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरिएको थियो।