भदौ २३, २०८२ सोमबार

काभ्रेपलाञ्चोक, २३ भदौः पाँचखालस्थित सशस्त्र प्रहरी बलले यहाँ विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास अभियान सञ्चालन गरिरहेको छ । उसले नगर तथा विभिन्न संस्थाको समन्वयमा आइतबार पनौती नगरमा विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य तालिम सम्पन्न गरेको छ । 

स्थानीयस्तरमा ‘सुरक्षित समाज’को उद्देश्यकासाथ मनसुन लक्षित तालिम गत जेठ महिनादेखि सञ्चालन गर्दै आएको हो । विशेषगरी तालिममा विपद् जोखिम न्यूनीकरण, तयारी तथा प्रतिकार्यबारे प्रशिक्षित गर्दै आइएको गणले जनाएको छ । पनौतीको तालिममा विद्यार्थी, स्वाधीन आमा समूह तथा जोखिमयुक्त क्षेत्रका स्थानीय गरी करिब ८० जनालाई सहभागिता गराइएको थियो । 

विसं २०८१ असोजको बाढीपहिरोले पनौती नगरका विभिन्न क्षेत्र क्षतिग्रस्त बनाएको थियो । अझैपनि पनौतीको कतिपय बस्ती जोखिमयुक्त रहेकाले समयमै पूर्वतयारी अपनाउन सोही क्षेत्रलक्षित चेतनानामूलक तथा विपद्का बेला समयमै उद्धारकार्य गर्ने÷गराउने उद्देश्यले तालिमको आयोजना गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । 

यसैगरी गणले यही भदौ दोस्रो साता मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्वारका लायन्स क्लब अफ बनेपामा आबद्ध ५२ लायन्सकर्मीलाई विपद्सम्बन्धी तालिम प्रदान गरेको थियो । विपद् व्यवस्थापनमा स्थानीय समुदायकोसमेत महत्वपूर्ण भूमिका हुने भएकोले तालिममा सहभागीलाई सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्याससमेत गराइएको उपरीक्षक रेग्मीले बताउनुभयो । 

गणले स्थानीय तहगत रुपमा काभ्रेपलाञ्चोकमा अभियानका रुपमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास अभियान सुरु गरेको जनाएको छ । बनेपा र पनौतीलगायत जिल्लाको आधा स्थानीय तहमा तालिम सञ्चालन गरिसकिएको जनाइएको छ ।

 गणका अनुसार जोखिमयुक्त क्षेत्रलक्षित तालिम सङ्ख्यात्मक आधारमा एक दिन तथा तीन दिनसम्म सञ्चालन गर्दै आइएको छ । जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः मनसुनजन्य तथा अन्य विपद्बारे तालिम प्रदान गर्दै जाने गणले जनायो । 

यस्तै गणले गत असारमा विपद् प्रतिकार्यस्वरुप उद्धारार्थ नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा तालिमप्राप्त उद्धारकर्ता, विपद् उद्धार सामगीसहित २५ जनाको सङ्ख्यामा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ । उक्त क्याम्पले मनसुनको समयमा बाढीपहिरो र सडक अवरुद्ध हुने उच्च जोखिम भएकाले उद्धारराहत कार्यलाई प्रभावकारी बनाएको जनाइएको छ । यस्तै बिपी राजमार्ग क्षेत्रको सुरक्षा तथा शान्ति–सुरक्षा कायम गर्नुका साथै स्थानीय तह, सुरक्षा तथा अन्य सराकारवाला निकायसँग समन्वय गरी आकस्मिक अवस्थामा तत्कालै परिचालित भई विपद् ब्यवस्थापनमा सहयोग पु¥याउने क्याम्पलाई जिम्मेवारी तोकिएको छ ।