भदौ २३, २०८२ सोमबार

कञ्चनपुर, २३ भदौः कैलालीको धनगढी उपमहानगरपालिका–७ जोखरतालका सुुशील चौधरी विगत एक दशकदेखि थारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन बिक्री गर्दै आउनुभएको छ ।  उहाँ कञ्चनपुरका थारु बस्ती—पिपलाडी, बेलौरी, लालपुर, देखतभूली, जाई, बञ्जरिया, शान्तिपुरलगायतका क्षेत्रमा पुगेर बिक्री गर्नुहुन्छ । उहाँले थारु महिलाको परम्परागत लेहङ्गा, चोल्या, मादलमा लगाउने झालर तथा पुरुषले लगाउने धोती बेच्ने गर्नुहुन्छ । उहाँका अनुसार सामान्य समयमा थोरै बिक्री भए पनि दसँैं, तिहार लगायतका चाडपर्वका बेला बिक्री निकै बढ्छ । महिनामा रु ३० हजारदेखि ४० हजारसम्मको आम्दानी हुने उहाँ बताउनुहुन्छ । 

चाडपर्वमा भने आम्दानी तेब्बर हुन्छ । उहाँकी श्रीमती रुपा चौधरीले यी परम्परागत पोसाक तयार गर्ने गर्नुहुन्छ । रुपाले छ महिनाको सिलाइकटाइ तालिम लिएर थारु महिलाका लागि विशेष पहिरन बनाउँदै आउनुभएको छ । उहाँका अनुसार, लेहङ्गा र चोल्या बनाउन तीनदेखि पाँच दिनसम्म लाग्छ । पहिरन बनाउन सितारा, कटौती, गोठ, नेफा, टुना जस्ता कलात्मक डिजाइन र रङ्गीचङ्गी कपडा प्रयोग गरिन्छ ।

सामान्य लेहङ्गा बनाउन करिब रु तीन हजार पाँच सय लागत पर्छ, भने बुट्टावाला लेहङ्गामा रु छ हजार पाँच सय लागत लाग्छ । ती लेहङ्गा क्रमशः रु चार हजार पाँच सय सात हजार पाँच सयमा बिक्री हुन्छन् । त्यस्तै, तीन सय लागतमा तयार हुने चोल्या पाँच सयदेखि सात सयमा बिक्री हुन्छ भने तीन सयमा तयार हुने धोती भने पाँच सयमा बिक्री हुने गरेको छ ।

रुपाले बजारको अवस्था हेरेर र मागअनुसार चोल्या र लेहङ्गा तयार गर्ने बताउनुभयो । अरु बेला अन्य महिलाका कपडा जस्तै लेडिज सुट, ब्लाउज, पेटिकोट, मेक्सी पनि सिलाइ गर्ने कार्य उहाँले गर्दै आउनुभएको छ । चौधरी दम्पतीले हाल परम्परागत तथा आधुनिक कपडा तयार गर्ने पसलमा झण्डै रु १२ लाख लगानी गरेका छन् ।

सुशीलले तयारी कपडा बेच्ने कार्यसँगै फुर्सदमा प्लम्बरको काम गरेर अतिरिक्त आम्दानी गर्दै आउनुभएको छ । चौधरी दम्पतीले कपडा व्यवसायबाट वार्षिक झण्डै रु छ लाख जति आम्दानी गर्दै आएका छन् ।

उहाँका अनुसार थारु महिलाले मात्र लेहङ्गा–चोल्या लगाउने भएकाले चाहेजति बिक्री सम्भव हुँदैन । त्यसैले अन्य तयारी पोसाक सिलाइको  गरेर जीविका चलाउनुपर्ने बाध्यता छ । “सिलाइकटाइ र परम्परागत कपडाको आम्दानीले परिवारको घरखर्च जेनतेन धानेको छ,” उहाँले भन्नुभयो ।