भदौ २३, २०८२ सोमबार

महोत्तरी, २३ भदौः महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज असोज कृष्ण प्रतिपदासँगै पितृ तर्पण सुरु भएको छ । असोज कृष्ण पक्षमा दिवङ्गत परिवारजनको सम्झना गरिँदै हिन्दू मैथिल परम्पराअनुसार दिइने तर्पण आज सुरु भएको हो । 

    पितृपक्ष भनिने असोज कृष्णपक्षमा पितृ श्राद्ध र तर्पणअघि मैथिलहरुले भदौ पूर्णिमाका दिन आइतबार घरका कुलदेवता, ग्रामदेवता र देवर्षिहरुलाई आह्वान गर्दै देव तर्पण गरेका थिए । मिथिलामा पितृपक्षको तर्पण धार्मिक महत्वका नदी, तलाउ, सरोवरसहितका पवित्र जलाशय रहेका तीर्थस्थलमा गरिने परम्परा छ । 

    यसअनुसार कतिपय मैथिल यो तर्पण र पितृश्राद्ध गर्न भारतको विहार प्रदेशमा पर्ने गया जाने गरेका छन् । यस्तै यहीँकै धार्मिक तलाउ, नदी, कुण्ड र सरोवरहरुमा दिवङ्गत परिवारजनलाई तर्पण दिने क्रम आज सुरु भएको छ । मैथिल यो पितृपक्षभरि नै दिनहुँ पितृ तर्पण दिन्छन् । 

    यो पक्षमा गरिने श्राद्धलाई पार्वण र एकोपार्वण भनिन्छ । यो भने पिता वा पितामहको तिथि पारेर घरमै गरिने परम्परा रहेको मैथिल लोकपरम्परा तथा शास्त्रीय कर्मकाण्डका जानकार मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ ।

    पितृपक्षमा पार्वण श्राद्ध अन्य पक्षमा दिवङ्गत भएका र एकोपार्वण यसै पक्षमा तिथि हुने पितृहरुको सम्झनामा गरिन्छ । पार्वणलाई महालय पनि भनिन्छ । पिण्डदानसहितको श्राद्ध पक्षभरिमा एक दिन गरिए पनि तर्पण भने दैनिक गरिन्छ । अहिले पितृपक्षले गर्दा महोत्तरीका धार्मिक महत्वका नदी माण्डवीगङ्गा (मडहा), रातुठाकुर एबं मटिहानीस्थित लक्ष्मीसागर, जलेश्वरस्थित भार्गव सर, वरुणसर र पुरन्दरसर एबं बलवाको धमौरास्थित ध्रुवकुण्डमा तर्पण र पितृपक्षको श्राद्ध गर्ने भरिभराउ छन् । 

    एकै दिन कैयौँ यजमान (जजमान) को श्राद्धको निम्ता मान्नुपर्ने हुँदा पुरोहितहरुलाई अहिले भ्याइनभ्याइ छ । यो पितृपक्षमा दिवङ्गत पितृहरु पितृलोकबाट पृथ्वीमा विचरण गर्न झर्ने र आफ्ना सन्तानले दिने तर्पण, पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ । 

    यसैगरी यसपक्षको श्राद्ध दसैँ, दीपावली र छठसहितका पर्वअघि पूर्वजको सम्झना गरिने चलन बसाइएको जलेश्वर–५ पतैलीका बासिन्दा मिथिला संस्कृति र परम्पराका ज्ञाता अवकाशप्राप्त सहप्राध्यापक ध्रुव रायको भनाइ छ ।