भदौ २३, २०८२ सोमबार

बारा, २३ भदौः बाघको आक्रमणबाट बारामा एक महिनामा चार जनाको मृत्यु भएको । बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५५ वर्षीय छेवाङ्ग लामा, जीतपुरसिमरा–२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा, सोही वडाकै रमेश कार्की र मकवानपुरको मनहरी गाउँपालिकाका ५५ वर्षीय चन्द्रबहादुर भुलन रहेको प्रहरी उपरीक्षक सन्तोष तमाङले जनाकारी दिनुभयो ।  

    जिल्लाको जीतपुरसिमरा–४ स्थित प्रगतिशिल सामुदायिक वनमा बाघको आक्रमणबाट आइतबार एक पुरुषको ज्यान गएको थियो । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार जीतपुरसिमरा–१ का ५५ वर्षीय छेवाङ्ग लामाको बाघको आक्रमणबाट ज्यान गएको हो ।

    लामालाई आइतबार च्याउ टिप्न जङ्गल जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघले आक्रमण गरेको हो । घाँस काट्न गएका स्थानीयले घटनास्थलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

    बाघलाई नियन्त्रणमा लिन चितवनबाट डार्ट टोली परिचालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो । दुई वटा हात्ती सौराहाबाट बाघको खोजीका लागि आएको उहाँले बताउनुभयो । बाघलाई डार्ट गर्न पशु चिकित्सकसहितको टोली जङ्गल क्षेत्रमा परिचालन गरिएको छ ।   
–––