भदौ २३, २०८२ सोमबार

काठमाडौँ, २३ भदौः जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाभित्र आज चार किल्ला तोकी कर्फ्यू  आदेश जारी गरेको छ । जेनजी  पुस्ताका नाममा भएको प्रदर्शन अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।
    बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज भदौ २३ गते अपराह्न १२ः३० देखि रातिको १० बजेसम्म कर्फ्यू  आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।