भदौ २३, २०८२ सोमबार

काठमाडौँ, २३ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनासँगै कर्णाली प्रदेशका अन्य आयोजना अगाडि बढाउन सरकार लागिपरेको बताउनुभएको छ ।

    फुकोट कर्णाली जलविद्युत् आयोजनाको कामलाई चाँडो अगाडि बढाउनुपर्ने मागसहित मन्त्रालयमा आएको कालीकोटको सर्वदलीय बैठकमा उहाँले कर्णाली प्रदेशको समृद्धिका लागि मन्त्रालयले फुकोट कर्णालीसँगै अन्य जलविद्युत् आयोजनाको कामलाई अगाडि बढाउन खोजेको बताउनुभयो ।

    उहाँले आयोजना निर्माणका लागि सम्झौता भएको भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँगको सहकार्यमा आयोजनाको कामलाई अगाडि बढाउन विद्युत् उत्पादन कम्पनीलाई निर्देशनसमेत दिनुभयो । “देशभरका आयोजनालाई सरकार एक्लैले लगानी गर्न सक्दैन भनेर कम्पनी खोलेका हौँ, भियुसिएलले भारतको भरपर्दो कम्पनी एनएचपिसीसँग सहकार्य गरेर फुकोट कर्णालीलाई अगाडि बढाउन खोजेको छ, ‘टाइमलाइन’ अनुसार काम गर्न कम्पनीलाई परिपत्र गर्नुस्,” उहाँले भन्नुभयो ।

    मन्त्री खड्काले मुलुकलाई नोक्सानी नहुने र लगानीकर्तालाई लगानीको सुरक्षा हुने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो । ऊर्जामन्त्री खड्काले गरिब र विपन्न नागरिकलाई बिनाधितो सरकारले ऋणको व्यवस्था गरेर जलविद्युत्को शेयर खरिद गर्ने वातावरण निर्माण गरेको उल्लेख गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवम् कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्झौता भइसकेको आयोजनालाई चाँडो कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।

    कांग्रेस कालीकोटका सचिव नगेन्द्रबहादुर विष्टले कर्णाली प्रदेशको समृद्धिका लागि उक्त आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धनबहादुर बुढाले कालीकोट र सिङ्गो कर्णालीको विकासका लागि उक्त आयोजनालाई चाँडो बनाउनुपर्ने बताउनुभयो । ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी एनएचपिसी लिमिटेडको लगानीमा निर्माण हुनेगरी सम्झौता भएको थियो ।