काठमाडौँ, २३ भदौः राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले काठमाडौँ उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रालाई केन्द्रमा राखेर खिचिएका फोटोको प्रदर्शनी गरेको छ । समूहले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा आजदेखि काठमाडौँको वसन्तपुरमा फोटो प्रदर्शनी आयोजना गरेको हो ।
तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा इन्द्रजात्राका झन्डै १०० फोटो प्रदर्शनीमा राखिएका समूहका महासचिव घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । उक्त प्रदर्शनीको आज उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँभित्रका सांस्कृतिक सम्पदालाई संरक्षण गर्न फोटो प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीले नेपाली कला, संस्कृति र चाडपर्वलाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
“इन्द्रजात्रा हाम्रो मौलिक पर्व हो, यसको हरेक गतिविधि सांस्कृतिक धरोहर हो, यस्ता प्रदर्शनीले हाम्रो संस्कृतिलाई विश्वसामु चिनाउन सहयोग पु¥याउँछ,” उहाँले भन्नुभयो ।
समूहका कार्यवाहक अध्यक्ष सागर श्रेष्ठले काठमाडौँको जीवित सम्पदा र मौलिक परम्पराको विविध आयामलाई नजिकबाट बुझ्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । संस्कृति, सम्पदा र परम्पराप्रति चासो राख्ने सम्पूर्णलाई प्रदर्शनी अवलोकनका लागि उहाँले आमन्त्रण गर्नुभयो ।
कार्यक्रमका संयोजक सुनिल शर्माले पत्रकारको दृष्टिकोणबाट काठमाडौँको सांस्कृतिक जीवन्ततालाई फोटोमार्फत प्रदर्शन गरिएको बताउनुभयो । “इन्द्रजात्रा केवल उत्सव होइन, यो काठमाडौँको पहिचान हो, यसलाई संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो दायित्व हो, इन्द्रजात्रा हाम्रो संस्कृतिको जिउँदो चित्र हो, आठ दिनसम्म विविध सांस्कृतिक गतिविधिले भरिएको जीवन्त पर्व, यसलाई प्रदर्शनीमार्फत हामीले यही सन्देश दिन खोजेका हौँ,” उहाँले भन्नुभयो ।