काभ्रेपलाञ्चोक, २३ भदौ : जिल्लामा अवैध रूपमा सञ्चालित ‘कन्सल्टेन्सी’ लाई जिल्ला प्रशासन कार्यालय धुलिखेलले ठगी मुद्दा चलाएर कार्वाहीको तयारी गरेको छ । गत बिहीबार अनुगमनका क्रममा भेटिएका अवैध रुपमा सञ्चालित कन्सल्टेन्सीलाई प्रशासनले कार्वाहीको तयारी गरेको हो ।
जिल्लामा एक सयभन्दा बढी कन्सल्टेन्सी सञ्चालनमा रहेको प्रशासनको प्रारम्भिक अनुगमनमा भेटिएको जनाइएको छ । स्थानीय प्रशासनले अनुगमनका क्रममा क्रमशः सम्बन्धित कन्सल्टेन्सी कार्यालयमा पुगेर प्रमाण खोज्ने र अनुमति नलिएकालाई कानुनअनुसार ठगी ऐनअन्तर्गत कार्वाहीको तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कन्सल्टेन्सी सञ्चालनसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा नभएकालाई बन्द गराइने तयारी भइरहेको हो ।
“अनुगमनका क्रममा मापदण्ड पूरा नगरी कन्सल्टेन्सी सञ्चालनमा ल्याएको भए तत्कालै सेवा बन्द गर्न निर्देशन दिने काननुी व्यवस्था छ”, श्रेष्ठले भन्नुभयो । शुक्रबारका अनुगमनका क्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरमा अवैध रुपमा सञ्चालित ६ वटा कन्सल्टेन्सी बन्द गर्न निर्देशन दिइएको थियो । जिल्लास्तरीय अनुगमन समितिले गरेको अनुगमनका क्रममा अवैध रुपमा सञ्चालित कन्सल्टेन्सी बन्द गर्न निर्देशन दिएको हो । समितिले बनेपा नगरमा सञ्चालन हुँदै आएका करिब एक सयमध्ये १५ कन्सल्टेन्सीको अनुगमन गरेको जनाएको छ । जसमध्ये पाँच कन्सल्टेन्सी दर्ता रहेको फेला परेको छभने ६ वटालाई बन्द गर्ने निर्देशन दिइएको जनाइएको छ । त्यस्तै अनुगमन टोली पुग्दा चार कन्सल्टेन्सी सञ्चालक फरार भएका थिए ।
समितिले बन्द गर्न निर्देशन दिएका कन्सल्टेन्सीमा ग्लोबल हब एजुकेसनल कन्सल्टेन्सी, मिसन कम्प्युटर एन्ड एजुकेसनल कन्सल्टेन्सी, बनेपा हार्डफोर्ड एजुकेसनल कन्सल्टेन्सी र सार एजुकेसनल नेटवर्क रहेका छन् । यस्तै डिस्कभरी पाथवे एजुकेसनल कन्सल्टेन्सीलाई पनि प्रमाणपत्र आएपछि मात्रै सेवा सञ्चालनको निर्देशन दिएको छ । एसडिसी एजुकेसनल कन्सल्टेन्सीलाई दर्ता नभएकाले बन्द गर्न निर्देशन दिइएको हो । काभ्रेपलाञ्चोकमा सञ्चालित कन्सल्टेन्सीको अनुगमन तीव्र पारिने कार्यालयले जनाएको छ ।