भदौ २३, २०८२ सोमबार

काठमाडौँ, २३ भदौः जापानको टोकियोमा हुने २०औँ विश्व एथलेटिक्स च्याम्पियनसिपमा मुकेशबहादुर पालले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    यही सेप्टेम्बर १३ देखि २१ तारिखसम्म हुने उक्त प्रतियोगितामा पालले एक हजार ५०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । उक्त स्पर्धामा पालकै नाममा ३ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिए । 

    त्यस्तै यही सेप्टेम्बर १० देखि १३ तारिखसम्म जापानमा नै हुने विश्व कंग्रेसमा एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह सहभागी हुने भएका छन् । टोली मङ्गलबार जापान प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य र राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरिन् ।