भदौ २३, २०८२ सोमबार

पाटन (ललितपुर), २३ भदौः इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चन्द्रभाल झाले तीनै तहको सरकारको समन्वयमा सन् २०३० भित्र कुष्ठरोग नियन्त्रणको लक्ष्य प्राप्ति हुने बताउनुभएको छ ।

    ‘द लेप्रेसी मिसन नेपाल’ले आज यहाँ ‘शून्य कुष्ठरोगका लागि सँगै काम गरौँ’ भन्ने नाराका साथ राष्ट्रिय प्रसार कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा निर्देशक झाले दिगो विकास लक्ष्यअनुसार नेपालले विश्व समुदायसामु गरेको प्रतिबद्धताअनुसार कुष्ठरोग उन्मूलन गर्न सफल हुने जिकिर गर्नुभएको हो ।

    “कुष्ठरोग प्रभावित क्षेत्रमा दक्ष जनशक्ति थोरै छ, थप तालिम दिएर खोज र निगरानी प्रणालीलाई जोड दिएका छौँ, प्रत्येक स्थानीय तहभित्रका स्वास्थ्य संस्था र अस्पतालमा कुष्ठ प्रभावितलाई निःशुल्क उपचार सेवा दिने नीति छ”, उहाँले भन्नुभयो । 

    द लेप्रेसी मिसन इन्टरनेसनलका अन्तरराष्ट्रिय निर्देशक बेन्ट मर्गनले कुष्ठरोग नियन्त्रण एवं उन्मूलनका लागि नेपालले गरेका कार्यहरू विश्वस्तरमै उदाहरणीय रहेको बताउनुभयो । 

    नेपाल अपाङ्ग महासङ्घ नेपालका पूर्वअध्यक्ष मित्रलाल शर्माले समाजलाई बदल्न र स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्न गैरसरकारी संस्थाहरूले उत्कृष्ट काम गरेको उल्लेख गर्नुभयो । 

    आइडिया नेपालका अध्यक्ष दिनेश बस्नेतले द लेप्रेसी मिसन नेपालले कुष्ठरोगको उपचारमा अन्य अस्पतालको तुलनामा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।

    सो संस्थाका अध्यक्ष अशोक अधिकारीले कुष्ठरोगीहरुको  दर्दनाक कथा सुनाउँदै बिरामीलाई गरिने राम्रो व्यवहारले उपचार सेवालाई प्रभावकारी बनाउन सम्भव भएको बताउनुभयो ।

    आजभन्दा सात दशक अगाडि सन् १९५७ बाट सुरु भएको कुष्ठरोग नियन्त्रण अभियानले रोग उन्मूलनका लागि आशा, रोगबाट पीडितहरूका लागि सम्मानसमेत जगाएको छ ।
---