कैलाली, २३ भदौ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुग्ध किसानको बक्यौता भुक्तानीको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
विभिन्न दुग्ध सहकारी संस्था र किसानको एक टोलीले माघ २०८१ देखि हालसम्मको दूध बिक्रीको बक्यौता रकम भुक्तानी हुन नसकेको भन्दै आज यहाँ मुख्यमन्त्रीलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउन पुगेको थियो । सो टोलीलाई सम्बोधन गर्दै उहाँले बक्यौता भुक्तानी दिलाउने पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
दुग्ध विकास संस्थान धनगढी, दुग्ध वितरण आयोजना अत्तरिया कैलालीलाई निरन्तर दूध आपूर्ति गर्दै आएका किसान र सहकारी संस्थाले बक्यौता रकम नपाउँदा तरलताको समस्या उत्पन्न भई किसान चिन्तित छन् ।
बक्यौता रकम नपाउँदा सहकारीहरूले किसानलाई भुक्तानी दिन नसक्ने स्थिति आएको बताइएको छ । सहकारी र किसानले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, “पटकपटक रकम उपलब्ध गराउन अनुरोध गर्दासमेत हाल आयोजना प्रशासनिक तथा आर्थिक कक्षमा ताला बन्द रहेका कारण रकम भुक्तानी हुनसकेको छैन ।”