टक्सार (भोजपुर), २३ भदौ : भोजपुर सदरमुकामको टुँडिखेलमा आजदेखि यू–१४ अन्तरविद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना र जिल्ला फुटबल सङ्घको सहकार्यमा स्वर्गीय खेलाडीहरू अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनिया, प्रियान्स आचार्य र साइमन योञ्जनको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।
छात्रतर्फको खेलमा १३ विद्यालयको खेलाडी सहभागी छन् भने छात्रातर्फ तीन विद्यालयका खेलाडी सहभागी छन् । २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टिमले प्रदेशस्तरीय प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएका छन् ।
छात्रतर्फको विजेता र उपविजेता विद्यालयले क्रमशः नगद रु २० हजार, रु १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद रु १० हजार, उपविजेताले रु पाँच हजार प्राप्त गर्ने छन् ।