नवलपुर (नवलपरासी), २५ भदौ : जेन–जी प्रदर्शनका क्रममा मङ्गलबार नवलपरासी –बर्दघाट–सुस्ता)मा रहेका विभिन्न राजनीतिक दल र तिनमा आवद्ध नेताहरुको घरमा तोडफोड र आगजनी गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालकाअनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालयमा आगजनी भएको छ । त्यस्तै यी राजनीतिक दलका नेताहरुको घरमा समेत आगजनी र तोडफोड भएको उहाँले जानकारी दिनुभयो । “जिल्लामा सरकारी कार्यालयभन्दा पनि बढी राजनीतिक पार्टी र उनीहरुको घरमा तोडफोड र आगजनी भएको छ” उहाँले भन्नुभयो, “त्यस्तै कावासोती नगरपालिका, गैँडाकोट नगरपालिकामा समेत आगजनी र तोडफोड भएको छ ।”
नवलपुरको गैँडाकोटस्थित मौलाकाली केबलकारको तल्लो स्टेशनमा समेत प्रदर्शनकारीले आगजनी गरेका नेपालको भनाइ छ । “जिल्लामा भएका क्षतिहरुको विवरण हामीले सङ्कलन गर्ने क्रम जारी छ” उहाँले भन्नुभयो, “अहिले जिल्ला अवस्थामा नियन्त्रणमा छ ।” जिल्लामा निषेधाज्ञा जारी रहेको उहाँले बताउनुभयो ।