कञ्चनपुर, २५ भदौः थारू समुदाय परम्परागत सीपमा धनी छ । पुर्खौँदेखि थारू समुदायले जोगाउँदै ल्याएका परम्परागत हस्तकलाका सामग्री व्यवसायीकरण हुनसकेका छैनन् ।
बाँस, मूञ्ज, घाँस, सनपाट, माटोलगायत स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने यी सामग्री ग्रामीण जीवनशैलीसँग दैनिक रूपमा जोडिएका छन् । थारू समुदायले आज पनि डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्ख, सुप्पा, मच्या, खन्ध्री, भौँका, गाग्री, करुवा, सुराही, गुन्द्री, मौनी, डोरी, सिकहरलगायत सामग्री प्रयोगमा ल्याइरहेका छन् ।
यी मौलिक सामग्री उत्पादन गर्ने सीप पुस्तान्तर भए पनि व्यावसायिक ज्ञान, लगानी र बजार पहुँचको अभावमा लोप हुँदै गएका समुदायका अगुवा नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । “परम्परागत सीपलाई उत्पादन र बजारसँग जोड्न सकिने हो भने हजारौँ परिवारलाई रोजगारी दिन सकिन्छ”, उहाँले भन्नुभयो, “व्यावसायिक सोच र अनुभव नहुँदा सम्भावनामा मात्र सीमित भएको छ ।”
अहिले केही थारू युवायुवती मौलिक सामग्री बनाउने व्यवसायतर्फ आकर्षित हुन थालेका स्थानीय बताउँछन् । हस्तकलाको व्यवसायीकरणतर्फ उहाँहरूको चासो न्यून छ । निर्मित सामग्री बजारसम्म पुर्याउन नसक्दा पुस्तान्तरण हुँदै आएको सीप घरभित्रै सीमित बनेको छ ।
शुक्लाफाँटा नगरपालिकाको उद्योग शाखा प्रमुख धनबहादुर चौधरीका अनुसार परम्परागत हस्तकलाबाट बनेका वस्तुहरू बजारको मागअनुसार परिमार्जन गर्न सके आकर्षक आयआर्जनको स्रोत बन्न सक्छन् । “थारू महिलामध्ये आधकांश परम्परागत चोल्या, लेहङ्गा र अन्य कपडा बनाउन सिपालु छन, आधुनिक डिजाइन र आकर्षक बुट्टा राखेर बनाउन सकिने हो भने बजार खोज्नै पर्दैन”, उहाँले भन्नुभयो ।
चलचित्र छायाङ्कन, साङ्गीतिक कार्यक्रम र नृत्यका लागि मौलिक वेशभूषा तथा सजावटी सामग्रीको माग बढ्दो छ । यसैलाई ध्यानमा राखी उत्पादनमा आधुनिकता थपेमा स्थानीयमात्र नभई अन्तरराष्ट्रिय बजारसम्म पनि लैजान सकिने सम्भावना रहेको चौधरीको बुझाइ छ ।
स्थानीयस्तरमा कच्चा पदार्थ पाइनुका साथै श्रमिक सहज रूपमा पाइने भएकाले न्यून लागतमा उत्पादन गर्न सकिने लक्ष्मण चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “थारु समुदाय तराईमा बसोबास गर्ने भएकाले यसरी उत्पादन भएका हस्तकलाका वस्तुहरु सडक र यातायातमार्फत बजारसम्म पुर्याउन सहज छ, यसलाई अवसरका रूपमा उपयोग गर्ने हो भने हस्तकलालाई उद्योगस्तरमा लैजान सकिन्छ ।”
उहाँका अनुसार गाउँमा सुप्पा, गुन्द्री, छतरी अझै बनाइन्छन् । बजारसम्म पु¥याउने सीप र लगानी नभएकाले कला ओझेलमा परेका उहाँको भनाइ छ । सरकारले तालिम र बजारको पहुँच पुर्याइदिने हो भने यसैबाट आम्दानी लिन सकिने उहाँले बताउनुभयो ।
बजारको मागअनुसार नयाँ डिजाइन बनाउन तालिम चाहिन्छ”, युवा व्यवसायी जानकी चौधरीले भन्नुभयो, “अहिले विदेशी बजारमा पनि नेपाली परम्परागत हस्तकलाको माग छ , यसलाई अन्तरराष्ट्रिय बजारसम्म लैजान सकियो भने आम्दानी गर्न प्रशस्त सम्भवना छन् ।”
“अहिले बजारमा परम्परागत ढाँचाका कपडा, गहना र सजावटी सामग्रीको माग बढ्दो छ”, सोभा खुनाले भन्नुभयो, “मौलिक संस्कृतिसँग जोडिएका वस्तुलाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको छ, यसले आर्थिक मात्र होइन, सांस्कृतिक पहिचानको संरक्षणमा समेत योगदान दिन्छ ।”
थारू हस्तकलालाई प्रतिस्पर्धी बनाउन साना उद्यम, सहकारी संस्था र स्थानीय सरकारबीचको समन्वय अपरिहार्य रहेकामा खुनाले जोड दिनुभयो । बजारमुखी तालिम, लगानी, बजार व्यवस्थापन र निर्यात प्रवर्द्धन नीति ल्याउन सकिने हो भने थारू समुदायको हस्तकलाले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिन सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।