भदौ २६, २०८२ बिहिबार

गोदावरी (कैलाली), २६ भदौ: सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत गोदावरी–खानीडाँडा सडकखण्ड दुई वर्षपछि स्तरोन्नति गरिएको छ । 

वर्षाका कारण पहिरोले क्षतिग्रस्त कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रको सडकखण्ड मर्मत गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । कार्यालयका सिनियर डिभिजनल इन्जिनियर  राजेशकुमार यादवले पहिरो गएको एक महिनाभित्र दुईतर्फी यातायात सञ्चालनमा ल्याइए पनि दिगो समाधानका लागि विस्तृत अध्ययन गरी निर्माण गर्दा दुई वर्ष लागेको बताउनुभयो । 

मर्मतसँगै पर्खाल लगाएर बाटो फराकिलो बनाइएको छ । सडक मर्मतपछि  सहज रूपमा दुईतर्फी सवारीसाधन सञ्चालन हुन थालेको छ । विसं २०८० साउन २३ मा अविरल वर्षापछि पहिरोले उक्त सडक खण्डअन्तर्गत बुढीतोला क्षेत्रमा करिब पाँच सय ७० मिटर सडक भाँसिनुका साथै माथिबाट पहिरो खसेको थियो । 

पहिरोले एक सातासम्मसुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला गरी सात पहाडी जिल्लाको सम्पर्क टुटेको थियो । इन्जिनियर यादवका अनुसार जमिनमुनिको पानीका कारण ठूलो भू–भाग नै भाँसिएकाले तत्कालै परामर्श सेवामार्फत आवश्यक अनुसन्धान गरी त्यसको निष्कर्ष र सुझावका आधारमा मर्मत सुरु भएको थियो । पहिलो चरणको मर्मतका लागि गत वैशाख २७ गते ‘जिएसआई हटैराज जेभी’ कम्पनीसँग रु छ करोड ४७ लाखमा ठेक्का सम्झौता भएको थियो । 

“पहिरो नियन्त्रणका लागि भूमिगत पानी व्यवस्थापन गर्न पाँच वटा इनार निर्माण गरिएका छन् । उक्त पानी सङ्कलन गरी सुरक्षित रूपमा निकास दिई जमिन स्थिर राख्ने काम भएको छ”, उहाँले भन्नुभयो,“इनार बनाउने, ‘सब–सर्फेस ड्रेनेज’को काम गर्ने, सडक काटेर फराकिलो बनाउने र बायो–इन्जिनियरिङ (वनस्पतिको प्रयोगबाट जमिनलाई स्थिर बनाउने) को काम सम्पन्न भइसकेको छ ।”

सडक भाँसिएको ठाउँमा १० मिटरसम्म अग्लो ‘मेकानिकल’ पर्खाल लगाएर सडकलाई बलियो बनाइएको छ । अब सडक स्थिर भएपछि एक वर्षपछि जमिनको अवस्था हेरेर मात्र कालोपत्रका लागि छुट्टै ठेक्का लगाएर काम गरिने कार्यालयले जनाएको छ ।