देवदह (रुपन्देही), २६ भदौः रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट गत चैत २२ गते सात वर्षीया बालिका बेपत्ता भइन् । स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका अटोरिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि उनी महिलासँगै गएकी र त्यसपछि बेपत्ता भएकी थिइन् ।
त्यसपछि बालिकाको परिवारले खोजतलासका लागि प्रहरी कार्यालयमा निवेदन दियो । तर, तत्काल उनी फेला परिनन् । बालिका फेला नपरेपछि उनको परिवार चिन्तित थियो । ती बालिकालाई ‘किन इन्डिया’ नामक संस्थाले उद्धार गरेर परिवारसँग पुनर्मिलन गराएपछि अहिले उक्त परिवारमा खुसी छाएको छ ।
किन इन्डियाका प्रतिनिधि नवीन जोशीले बालिका हराएको सूचना प्राप्त भएपछि खोजी प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । “नेटवर्क सक्रिय बनायौँ, भारतीय एजेन्सी, प्रहरी, दूतावाससँग समन्वय गर्यौँ । उहाँहरूले सहयोेग गर्नुभयो । वडा कार्यालयले आवश्यक कागजात छिटो पठाएपछि कानुनी प्रक्रिया पूरा गरेर प्रहरी कार्यालय र वडा कार्यालयको रोहवरमा बालिकालाई परिवारसँग पुनर्मिलन गराएका छौँ”, उहाँले भन्नुभयो ।
बालिका भारतको विहारमा फेला परेकी जोशीले जानकारी दिनुभयो । “नानीले नयाँ जीवन पाएकी छन् । तर, उनलाई भारतसम्म पुर्याउने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ । ती व्यक्तिको खोजी भइरहेको छ”, उहाँले भन्नुभयो ।
आफ्ना बालबालिकाको ख्याल गर्न र सचेत हुन उहाँले अभिभावकलाई आग्रह गर्नुभयो । किन इन्डियाले हालसम्म हजारौँको उद्धार गरिसकेको उहाँले जानकारी दिनुभयो ।
विगत लामो समयदेखि महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएकी सामाजिक अभियन्ता ज्ञानु पौड्यालले बालिका घर पुग्दा घरपरिवार हर्षित भएको बताउनुभयो । “बालिका हराएपछि परिवार निकै पीडामा थियो, तर अहिले यो परिवारमा खुसी छाएको छ”, उहाँले भन्नुभयो ।
नेपाल–भारत खुल्ला सीमा भएकाले मानव बेचबिखनको जोखिम रहेको उहाँले बताउनुभयो । राज्यले यो घटनाको अनुसन्धान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले यस्ता घटना हुन नदिन जनचेतनामूलक कार्यक्रम र अभिभावक शिक्षा जरुरी रहेको बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष मुक्तिनाथ यादवले किन इन्डियाको अथक प्रयासबाट बेपत्ता बालिका साढे ६ महिनापछि घर फर्किन सफल भएकी बताउनुभयो । “बालिकाको परिवारसँगै वडा परिवार खुसीले गदगद् भएका छौँ”, उहाँले भन्नुभयो ।