भदौ २६, २०८२ बिहिबार

बैतडी, २६ भदौः डडेल्धुरा कारागारबाट भागेका छ कैदी बैतडीबाट समातिएका छन् । संयुक्त सुरक्षा टोलीले जिल्लाको पाटन नगरपालिका–१ सकारबाट उनीहरुलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

    भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा संयुक्त सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी र अछाम घर भएका दुई÷दुई र दार्चुला तथा बैतडी घर घएका एक÷एक जना रहेका छन् । उनीहरु कर्तव्य ज्यान मुद्दा, जबर्जस्तीकरणी र चोरीसम्बन्धी मुद्दामा दोषी ठहर हुँदै जेल चलान भएका बताइएको छ । 

    ‘जेनजी’को प्रदर्शनका कारण बुधबार बिहानै डडेल्धुरा कारागार तोडफोड गरेर कैदीबन्दी फरार भएका थिए । पक्राउ परेका सबैलाई डडेल्धुरा प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको प्रजिअ पौडेलले बताउनुभयो । कारागारबाट कैदी भागेपछि संयुक्त सुरक्षा टोलीले उनीहरुलाई खोज्न ‘अप्रेसन’ चलाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो ।