भदौ २७, २०८२ शुक्रबार

त्रिशूली (नुवाकोट), २७ भदौ : नुवाकोटको अवस्था सामान्य हँुदै गएको छ । जेनजी समूहको प्रदर्शनका कारण गत सोमबारदेखि भइरहेको विरोध तथा आगजनीबाट अशान्त भएको जिल्लाको अवस्था अहिले शान्तिपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेको विषम परिस्थितिको फाइदा उठाउँदै हुनसक्ने अराजक गतिविधि रोक्न निषेधाज्ञा भने जारी राखिएको छ ।

प्रजिअ घिमिरेका अनुसार, नेपाली सेनासहितको सुरक्षाकर्मीबाट जिल्लाको शान्ति, सुरक्षाको भरपर्दो प्रत्याभूति उपलब्ध गराइ अवस्था सामान्य बनेको छ । नियमित रुपमा पेशा व्यावसाय सञ्चालन, आवतजावतसहित आमनागरिकको दैनिक जनजीवन पूर्ववत अवस्थामा फर्किएको छ ।

जिल्लामा जारी रहेको निषेधाज्ञाको समयमा बिना उद्देश्यले पाँच जनाभन्दा बढीको समूहमा भेला हुन, आवातजावत गर्न भने रोक लगाइएको छ । रातको समयमा कफ्र्यू लगाइने हुदाँ उक्त समयमा आवतजावत गर्नैपर्ने अवस्था आएमा सुरक्षाकर्र्मीसँग समन्वय गर्न भनिएको छ ।

जेनजी समूहको विरोध प्रदर्शनका क्रममा जिल्लामा रहेका राजनीतिक दलका पार्टी कार्यालय, दलका नेताका घरमा आगजनीसहितको विरोध प्रदर्शनले सुरक्षाको अवस्था कमजोर भए पनि अहिले सामान्य हुँदै आएको छ ।

विशेषगरी अहिलेको विषम परिस्थितिको मौका छोपी चोरी, डकैती, लुटपाटलगायत अवाञ्छित गतिविधि हुनसक्ने भएकाले आम नागरिकलाई पनि सजग र सचेत भएर शान्ति सुरक्षा कायम गर्नका लागि सेनाले अपिल गरेको छ ।