भदौ २७, २०८२ शुक्रबार

गण्डकी, २७ भदौः मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास संविधानभित्रैबाट खोज्नुपर्ने माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)ले गण्डकीका विभिन्न जिल्लामा मौन प्रदर्शन गरेको छ । नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घलगायत पेसागत सङ्गठनहरूको सहभागितामा बागलुङ, पर्वतलगायत जिल्लामा आज मौन प्रदर्शन गरिएका हो । 

उक्त मौन प्रदर्शनमा सहभागी पेसाकर्मीले हातमा संविधानको पुस्तक र ‘देश बचाऔँ, संविधान जोगाऔँ’ लेखिएका ‘प्लेकार्ड’ बोकेका थिए । नेपाल पत्रकार महासङ्घ केन्द्रको निर्णयअनुसार राष्ट्र र संविधानको रक्षाका लागि मौन प्रदर्शन गरिएको नेपाल पत्रकार महासङ्घ बागलुङका सचिव नारायण रिजालले बताउनुभयो । 

उक्त प्रदर्शनमा अधिकांश कानुन व्यवसायी र पत्रकारको उपस्थिति थियो । मुुलुकको पछिल्लो विकसित घटनाक्रमका सन्दर्भमा संवैधानिक प्रक्रियाबाट निकास निकाल्न माग गर्दै प्रदर्शन गरिएको उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष गीता श्रीसले बताउनुभयो । ‘पापड’ केन्द्रको निर्णयअनुसार जिल्लामा थप कार्यक्रम तय हुने उहाँको भनाइ छ । 

यही भदौ २३ र २४ गते जेनजीको प्रदर्शनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा अन्तरिम सरकार गठन प्रक्रिया संविधानभित्रबाट अगाडि बढाउनुपर्ने ‘पापड’को माग छ ।