दाङ, २८ भदौः यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको छ ।
कारागार प्रमुख गीरबहादुर सेजुवालले जेनजी प्रदर्शनका क्रममा भागेका २५३ कैदीमध्ये ७१ जनालाई पुनः पक्राउ गरिएको जानकारी दिनुभयो । तीमध्ये केही आफैँ सम्पर्कमा आएका र केहीलाई सुरक्षाकर्मीले पक्राउ गरेको उहाँले बताउनुभयो ।
कारागारमा रहेका ४६९ कैदीमध्ये २५३ जना पुरुष कैदी तोडफोड गरेर भागेका थिए । कारागारमा महिला कैदी मात्र बाँकी रहेका थिए ।
यसैबीच दाङको जनजीवन सामान्य बन्दै गएको छ । आज बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालन हुनाका साथै बजारमा मानिसको चहलपहल बढेको छ । स्थानीय प्रशासनले भने जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको छ ।