काठमाडौँ, २८ भदौः विघटित प्रतिनिधिसिभामा प्रतिनिधित्व गरेका आठ राजनीतिक दलले लोकतान्त्रिक एवं कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र प्रचलित कानुन बमोजिम हुनुपर्नेमा जोड दिएका छन् ।
आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ती दलले सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने बताएका हुन् । संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरीतका कदम अस्वीकार्य हुने बताउँदै आठ दलले प्रतिनिधिसभा विघटन गरिएकामा असहमति जनाएका छन् ।
संवैधानिक सर्वोच्चता कायम हुनुपर्नेमा जोड दिँदै नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षले हस्ताक्षर जारी गरेको विज्ञप्तिमा संसद् विघटनको निर्णय सच्च्याउन माग गरिएको छ ।