इनरुवा (सुनसरी), २८ भदौः चाडपर्व नजिएसँगै सुनसरीका मूर्तिकारलाई माटोको कलात्मक मूर्ति बनाउनका लागि भ्याइनभ्याइ भएको छ ।
सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने मूर्तिकारलाई चाडपर्व नजिकिएसँगै माटोका कलात्मक मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो । विभिन्न स्थानीय तह वा क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा समुदायका मानिसले चाडपर्वका बेलामा देउताको प्रतिमाको रुपमा माटोका कलात्मक मूर्ति राखेर पूजाआजा गर्ने भएकाले मूर्ति बनाउनका लागि भ्याइनभ्याइ भएको इनरुवा–४ का मूर्तिकार गणेश मेहताले बताउनुभयो ।
मिथला क्षेत्रमा बसोबास गर्ने हिन्दू नारीको महान्पर्व जितियामासमेत सुनसरीको कोसी, भोक्राहा, हरिनगर इनरुवा, देवानगञ्ज, बर्जु, दुहबी, गढीलगायतका स्थानमा बसोबास गर्नेले देवीदेउताको प्रतिमाका रुपमा माटोको कलात्मक मूर्ति राखेर पूजा गर्ने भएकालेसमेत यसको माग बढेको र बनाउनका लागि व्यस्त हुने गरेको इनरुवाका मूर्तिकार मनोजकुमार मेहताले बताउनुभयो ।
त्यसैगरी विश्वकर्मा पूजा आउन चार दिनमात्र बाँकी रहेको छ भने घटस्थापन आउन नौ दिनमात्र बाँकी रहेका बेलामा सुनसरीका मूर्तिकारको व्यस्तता बढेको स्थानीय धार्मिक क्षेत्रका अगुवा स्थानीय पत्रकार गणेशकुमार यादवले बताउनुभयो ।
विशेष गरेर विश्वकर्मा पूजामा विश्वकर्मा बाबाको माटोको कलात्मक प्रतिमा अर्थात् मूर्ति राखेर पूजा गर्ने भएकालेसमेत मूर्तिकार व्यस्त भएका हुन् । विश्वकर्मा पूजामा मात्र एउटा मूर्तिकारले एक जना सहयोगीका भरमा ५० देखि १०० मूर्तिसम्म बिक्री गर्ने गरेका छन् । पराल, दाम्लो (डोरी) र माटोको प्रयोग गरेर मूर्तिकारले मूर्ति बनाउने गरेका छन् ।
त्यसैगरी दशैका बेलामा दुर्गासँगै विभिन्न देवीदेउताका मूर्ति बनाउने भएकाले मूर्तिकारको व्यस्तता बढेको छ भने आर्थिक आम्दनीसमेत बढ्दै गएको छ । अरुबेला बसेर वा खेतीपाती गरेर दैनिकी गर्दै आएकामा चाडपर्वका बेलामा आर्थिक आम्दनीको मूलमूर्ति निर्माण गर्ने कार्य हुने गरेको मूर्तिकारले बताएका छन् । यो सिजनमा एउटा मूर्तिकारले जितिया, विश्वकर्मा र दसँैमा मूर्ति निर्माण गरेर जिल्लामा रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी गर्दै आएका छन् ।
विश्वकर्मा पूजामा माटोको कलात्मक विश्वकर्माको प्रतीक राखेर सवारी चालक तथा धनी र उद्योगीले पूजाअर्चना गर्ने भएपछि मूर्तिको माग बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो । एउटा मूर्तिकारले रु पाँच हजारदेखि रु २५ हजारसम्मको एउटा कलात्मक माटोको मूर्ति बनाएर बिक्री गर्ने गरेको राजकुमार यादवले बताउनुभयो । मूर्तिको माग बढेपछि वार्षिक रुपमा मूल्यसमेत बढेको स्थानीय उपभोक्ताले बताएका छन् ।