✍️ दीपक आर चन्द । भनिन्छ, शिक्षा जीवन हो : ज्ञान र सीपभन्दा पवित्र केही हुँदैन। शिक्षा नै यस्तो धन हो जसले अज्ञानता मेटाउँछ र जति बाँड्यो उति नै बढ्दै जान्छ। तर शिक्षा प्रतिस्पर्धात्मक खेल भने पट्क्कै हैन। यो अहिलेको युगमा आएर पाउनु नै पर्ने आधारभूत आवश्यकता हो। जसलाई हाम्रो देशको संविधानले पनि पूर्ण मान्यता दिएको छ।
जीवन कडा तपस्या र मेहनतविना बाँच्न गाह्रो छ। जीवन सरल र सहज बनाउन शिक्षा र सीपको ठूलो भूमिका हुन्छ। सीपबाट उत्पादन र उत्पादनबाट जीवनयापन सहज र सरल हुने कुरा सर्वविदितै छ, साथै शिक्षाबाट नैतिक, व्यावहारिक ज्ञान तथा सामाजिक र राजनैतिक चेतनाको विकास हुनेकुरा उत्तिकै महत्वपूर्ण छ।
हाम्रो देशको शिक्षा प्रणाली शिक्षण संस्थामा सिकेको घर आएर र घरमा सिकेको शिक्षण संस्थामा गएर बिर्सिनेबाहेक अर्को छैन। डिग्री पास तर जीवन फेल। उच्च र आधुनिक शिक्षा हासिल गर्न आयस्रोत छैन । आयस्रोतका निम्ति सीप चाहिन्छ, सीप आधारभूत अध्ययनबाट र प्रयोगात्मक शिक्षा प्रणालीबाट प्राप्त हुन्छ भने के यस्तो आधारभूत शिक्षा प्रणालीमा हामी छौ त?
आधारभुत तह तोकिएको मात्र छ तर कुनै व्यावहारिक ज्ञान छैन । ड्रिम प्रोजेक्टसम्बन्धी दैनिक महत्वपूर्ण नयाँ नयाँ खोज र सिकाइसम्बन्धमा शिक्षा प्रणाली खुकुलो छ।
शिक्षाले समाज परिवर्तन हुन्छ भन्ने बढी सुनेका र कम मात्रामा देखेका छौँ । तर हाम्रो देश र समाजमा शिक्षाले तनाव र विकृति ल्याउन बाध्य बनाएको भोगेका पनि छौँ।नेपालकै शिक्षाको आधुनिक युग यता लाखौ युवाहरूलाई डिग्री दिएर बिदेशमा मजदुरको जागिर खान बाध्य बनाउने शिक्षा प्रणाली कुन हो त? हरेक क्षेत्रमा व्यावहारिक अनि सिपमूलक शिक्षा प्रणाली नहुनुका कारण उत्पादन कम हुन्छ । उत्पादन कम हुँदा जीवनयापनमा प्रत्यक्ष रूपमा दुख, कष्ट, बाधा र तनाव हाम्रो नेपाली समाजमा देखिन्छ र बढ्दै गइरहेको छ। जसका कारण नै चरम रूपमा युवा शक्ति दिनदिनै विदेशिन बाध्य भइरहेको छ।
हाम्रो शिक्षा प्रणालीमा विकृतिका मुख्य कारण विदेशी शिक्षा प्रणाली भित्र्याउनु, आफ्नै देशको आवश्यकतालाई घ्यानमा राखी स्थानीय स्तरको शिक्षा प्रणाली बनाइ लागू नगर्नु। शिक्षामा चरम राजनीतीकरण र कमजोर शिक्षा व्यवस्थापन हुनु । सरकारले शिक्षामा तोकेको जति सबै बजेट सहज र पारदर्शी रूपमा खर्च नगर्नु हुन् ।
वास्तविकता हेर्ने हो भने हाम्रो देश र समाजलाई पढेर डिग्रीको घमन्ड गर्ने हैन पढेर घमण्ड हटाउने शिक्षा चाहिएको छ। कति ग्रेड र कति प्रतिशत अङ्क ल्याएर पास भयौ हैन, पर्याप्त कला अनि सीप सिक्यौं र जीवनमा आवश्यकताअनुसार उपयोग गर्दै छौँ भन्ने शिक्षा चाहिएको छ। पद र प्रतिष्ठाको लालच र घमन्ड गर्ने शिक्षा हैन उच्च सेवाको प्रत्याभूति गराउने जनचेतनामूलक शिक्षा चाहिएको हो । संस्कार, सभ्यता र सुधारात्मक अनुशासित अनि जीवनोपयोगी सकारात्मक शिक्षा चाहिएको हो न कि प्रतिस्पर्धात्मक ।
अन्तमा आगामी दिनमा युवाहरू जागरुक हुनु पर्दछ । सकारात्मक पाइला अगाडि बढाउनु पर्दछ जस्ले मात्र शिक्षा क्षेत्रमा व्यावहारिक र सिपमूलक ज्ञानबारे उच्च पहल गर्न अनि ईमान्दारीपूर्वक अग्रसर हुनेमा पुर्ण विश्वास छ।