भदौ ३१, २०८२ मंगलबार

काठमाडौँ, ३१ भदौः राष्ट्रिय बाल दिवस-२०८२ का अवसरमा द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ । काठमाडौँको सिनामङ्गलस्थित बालबालिका शान्ति पार्कमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले दीप प्रज्ज्वलन गरेको हो । 

    कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफ, साझेदार संस्था सेभ द चिल्ड्रेन, बालअधिकार क्षेत्रमा सक्रिय नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सञ्जालका प्रमुखको उपस्थिति रहेको सिजपका अध्यक्ष तिलोत्तम पौडेलले राससलाई जानकारी दिनुभयो ।
  
    सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बालबालिकाको सम्झनामा निर्माण गरिएको शान्ति पार्कमा सिजपले हरेक वर्ष बालदिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै आएको छ । भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिका कारण यसवर्ष बालदिवसका अन्य कार्यक्रम हुन नसकेको अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो ।

    उहाँले बालबालिका र विद्यालय शान्तिक्षेत्र भएकाले भदौ २३ पछि उत्पन्न घटनाक्रमले बालबालिकामा गम्भीर मनोसामाजिक समस्या सिर्जना गरेको धारणा राख्नुभयो । भ्रामक सूचनाका कारण बालबालिकाहरूमा त्रास फैलिएकाले विद्यालयमा शान्ति, शिक्षा र मनोपरामर्श सेवा अनिवार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
  
    बालअधिकारकर्मी कुमार भट्टराई, प्रह्लाद ढकाल, गोविन्द शाही र बेनुमाया गुरुङले युद्ध, द्वन्द्व, प्रदर्शन र आन्दोलनमा जहिल्यै बालबालिका पीडित र प्रभावित हुने गरेका बताउनुभयो । उहाँले जेनजी प्रदर्शनसहित परिवर्तनका लागि भएका आन्दोलनमा योगदान गर्ने सबै बालबालिका र युवाप्रति सम्मान व्यक्त गर्नुभयो ।

    सहभागीले विद्यालय र बालबालिका शान्ति क्षेत्र कायम गर्नुपर्ने, कुनै पनि प्रदर्शन वा आन्दोलन वा हिंसामा बालबालिकाको प्रयोग गर्न नहुने, राजनीतिक दल तथा युवापुस्ताले कानुन, अधिकार र कर्तव्यका विषयमा सचेतना फैलाउनुपर्नेलगायत विषयमा जोड दिनुभएको छ ।
  
    यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा थुप्रै बालबालिका घाइते भएका थिए भने कम्तीमा चार जना १८ वर्ष मुनिका बालबालिकाले ज्यान गुमाएका सिजपले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । भ्रामक समाचार र डरत्रासका कारण धेरै बालबालिका त्रसित बनेका सरोकार भएकाहरूको भनाइ छ । यसप्रति राज्य गम्भीर हुनुपर्ने र परिवारले बालबालिकालाई समय दिनुपर्ने आवश्यकता सिजपले औँल्याएको छ ।
  
    संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा पारित भएको थियो । नेपालले यसलाई १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको हो । त्यसपछि २०६२/६३ को जनआन्दोलनपछि नेपालमा प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउन थालिएको हो । यसवर्ष भने भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनमा बालबालिका र युवामाथि क्षति पुर्‍याएपछि दिवसलाई पीडादायक एवं खल्लो रूपमा मनाउनुपरेको सहभागीको भनाइ थियो ।

    देशका ५० जिल्लामा १०७ सदस्य संस्था रहेको सिजपको स्थापना  बालबालिकालाई हिंसा, दुव्र्यवहार र शोषणबाट जोगाउने र बालमैत्री नीतिको पैरवी गर्ने उद्देश्यले भएको सिजपका महासचिव राजु घिमिरेले जानकारी दिनुभयो । अभियानले बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न आगामी दिनमा अझ सक्रिय भूमिका निर्वाह गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
---