भदौ ३१, २०८२ मंगलबार

टिकाराम सुनार 
काठमाडौँ, ३१ भदौः यही भदौ २३ र २४ मा नेपालमा ‘जेनजी’ आन्दोलन भयो । यो नेपालका लागि मात्रै होइन, विश्वकै लागि पछिल्लो शताब्दीकै एक ‘विशिष्ट’ घटनामा दर्ज भएको छ । ‘विशिष्ट’ यस अर्थमा कि वर्षौंदेखि मौलाएका ‘बेथिति’ को प्रतिरोध गर्दै केही घण्टामै ‘सत्ता’ उलटफेर भएको छ । यस्तो घटना विश्वमै विरलै हुन्छ । २०४६ सालको परिवर्तन र २०६२÷६३ पछि देखाइएका सपनालाई नागरिकको बदलिँदो चेतना र आवश्यकतासँग जोड्न नसकेको उकुसमुकुस । उमेरले होइन ‘एजेन्डा’ प्राथमिकताको विषय हो, तर जति तर्क गरे पनि एउटा व्यक्ति सबै व्यवस्था, काल र परिस्थितिमा ‘सर्वकालिक’ ग्राह्य हुँदैन । उसको समय, चेतना, वेग र आवश्यकताको सिद्धान्तले पनि त्यो हुँदैन, तर नेपालमा त्यही भइरह्यो, जुन कुरा पछिल्लो पुस्तालाई मन परेन । त्यसको अभिव्यक्ति हो, भदौ २३ र २४ को अवस्था । यो आन्दालनबारे विविध कोणबाट बहस भइरहेकै छन्, हुनु पनि पर्छ । 

    यस आन्दोलनले दुईवटा पक्ष बोकेको जस्तो देखिन्छ— एउटा आशा र अर्को सङ्कट । आशाले भ्रष्टाचार, अन्याय र बेथितिको अन्त्य गर्दै सुशासन, सुव्यवस्थासहित सुनौलो भविष्य निर्माणको सपनालाई प्रतिनिधित्व गर्छ । हाल आन्दोलनको घाउ आलै छ । देशका अमूल्य सम्पदा, आर्थिक प्रशासनिक धरोहर खरानी भएका छन् । राष्ट्र निर्माणमा योगदान गर्ने सबै क्षेत्रको आत्मबल कमजोर भएको छ । यद्यपि, राष्ट्रपतिको सुझबुझपूर्ण अभिभावकत्वका कारण तत्काल लोकतन्त्र जोगिएको छ । संवैधानिक सर्वोच्चतालाई स्वीकार्दै अगाडि बढ्ने बाटो खुलेको छ । अब सर्वत्र चिन्ता र चासो छ— देश कसरी उठ्ला ?  

    यस्तो बेला केवल सङ्कल्पको खाँचो छ । आम नेपालीमा फेरि सपना र आत्मविश्वासको जन्म गराउने सुझबुझपूर्ण नेतृत्वको खाँचो छ । दशवर्षे सशस्त्र द्वन्द्वबाट सम्हालिँदै अगाडि बढेको देश । संविधानसभा र संविधान निर्माणका क्रममा अघिपछि भएका आक्रोशलाई मत्थर गरेर लयमा फर्किएको देश । हामी पटकपटकका आन्दोलन, क्रान्ति र प्रतिक्रान्तिका बीचबाट उठेर हिँडेका छौँ । विनाशकारी भूकम्पदेखि तमाम जटिलताका बीचबाट पनि आशा र सपनासहित हिँड्न सफल भएका छौँ । के यो एउटा आन्दोलनले भत्किन्छौँ, सकिन्छौँ त ? पक्कै यो समय पनि बितेर जानेछ । अङ्ग्रेजीमा एउटा भनाइ छ नि ‘टाइम हिल्स’ अर्थात् समयले उपचार गर्छ । इतिहासले हामीलाई सिकाएको छ—नेपाल कहिल्यै हार्दैन । न द्वन्द्वमा हा¥यो, न विपद् वा महामारीमा । भूकम्पमा ढलेका घर फेरि उठे । कोरोना महामारीले छाएको मौनता फेरि हाँसोले गुल्जार भयो । नेपाल पटकपटक ढले पनि फेरि उभिएको छ । त्यसैगरी यसपटक पनि हामी सजिलैसँग उठ्नेछौँ । मूर्छित आशा फक्रिनेछ । 

    यस आन्दोलनबाट नयाँ पुस्ताले दिएको सन्देश स्पष्ट छ–समान न्याय, समान अवसर र उत्तरदायी शासन । हामीले यही आवाज सुन्नुपर्छ । आमनेपालीबीच फेरि एकता र सौहाद्र्रताको खाँचो छ । हामी हरेकले सम्हालिनु छ । हरेकले फेरि उठ्नका लागि सङ्कल्प गर्नुपर्नेछ । बुझ्नुपर्ने के छ भने सङ्कटलाई देखाएर वा अन्धकारलाई गाली गरेर मात्र उज्यालो आउँदैन । अब हरेक नेपालीमा साहस र सङ्कल्प आवश्यक छ । उज्यालो स्वतः आउँदैन, कसैले बत्ती बाल्नुपर्छ । त्यसैले एकता, सहिष्णुता र सुशासनतर्फ सामूहिक प्रयास गर्नुपर्छ । समाजमा असुरक्षा, अनिश्चिय, अफवाह फैलाउने र निरासामा डुबेर होइन, सानो–सानो कर्मले आशाको बाटो कोर्नुपर्छ ।

    हामी सबै विभिन्न अफवाहबाट त्रस्त भएको बेला राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ २८ गते गर्नुभएको सार्वजनिक अपिलको भावनालाई बुझौँ । उहाँले भने जस्तै संविधान र प्रणाली जोगिएको छ, अब चुनावमार्फत अझ परिपक्व लोकतन्त्रतर्फ अघि बढ्ने अवसर आएको छ । यसलाई सदुपयोग नगरे फेरि सङ्कट आउन सक्छ । “देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । तसर्थ, बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु”, राष्ट्रपतिको यो भनाइ प्रस्ट सन्देश पनि हो र चेतावनी पनि । संविधान जोगाउँदै जुक्तिले जोगाएको यो व्यवस्थामा सम्हालिँदै अगाडि बढेमा फेरि उठ्ने अवसर छ । त्यसलाई बेवास्ता गर्दै बहानाबाजी गरेमा सङ्कट तत्कालका लागि टरेको हो, दीर्घकालका लागि होइन । फेरि हामी अनिश्चयतर्फ धकेलिन्छौँ । यो चेतावनीलाई पनि अवसरका रूपमा लिएर अगाडि बढौँ । 

    जेनजी आन्दोलनपछिको नेपाल ः निराशाभन्दा आशाको बाटो
    सम्झिऔँ त यही भदौ २३ देखि २७ गतेसम्मको अवस्था । यो विचार लेख्दासम्म ७२ जनाको ज्यान गएको छ भने अझै धेरैजना उपचारकै क्रममा छन् । अर्बौंको सम्पत्तिमा नोक्सान भएको छ । यो आन्दोलनले एकैपटक राज्यको सुरक्षा प्रणाली, सुरक्षा दस्ताहरूको सूचना पहुँच र विश्लेषण क्षमता, राजनीतिक नेतृत्वको सोचको अवस्था छर्लङ्ग भएको छ । भ्रम र अफवाह कति शक्तिशाली छ भन्ने प्रस्ट्याएको छ । 

    यी विविध पक्षको विश्लेषण हुँदै जाला । आन्दोलनको मूल मुद्दालाई कुनै पनि बहानामा नभड्काऔँ । जेनजी आन्दोलनको मूल माग भ्रष्टाचार, बेथिति, चरम नातावाद, राजनीतिको अपराधीकरण र राज्य संयन्त्रलाई पार्टीकरण गर्ने प्रवृत्तिको अन्त्य गर्नु थियो । दलहरूबीच नीति, सिद्धान्त र युग चेतलाई सम्बोधन गर्नेभन्दा पनि ‘सत्ता’ मा रहनका लागि हुने भागबन्डा र त्यसैका लागि सबै क्षेत्रलाई ‘पङ्गु’ बनाएर आफू बलियो हुने प्रवृत्तिलाई युवा पुस्ताले अस्वीकार गरेका हुन् । त्यसैले अब अफवाहलाई चिर्दै भत्काउन खोजिएको आत्मबललाई कमजोर हुन नदिऔँ । केही सकिएको छ, तर धेरै बाँकी नै छ । सहरका गल्लीमा सपना बोकेर हिँड्ने युवा अझै छन् । गाउँको खेतमा पसिना बगाइरहेका किसान अझै काम गर्न तयार छन् । आमा–बुबाको आँखामा सन्तानको उज्यालो भविष्य देख्ने  विश्वास अझै छ । यी सबै कुराले चिच्याएर भनिरहेका छन्—देश अझै बाँकी छ । जनतामा विवेक अझै बाँकी छ । आशा अझै बाँकी छ ।

    यतिबेला सर्जक कालीप्रसाद रिजालले लेखेका शब्द र संविधानविद् तथा सर्जक अर्जुन मिलन (डा भिमार्जुन आचार्य) गीतका सानो पङ्ति सम्झौँः  
    सबैले त देशबाट लिन्छु केवल लिन्छु भने,
    तिमीचाहिँ देशलाई म त दिन्छु केही भन्देउ न है । 
    अब हरेक नागरिकमा साहस चाहिएको छ । नयाँ बिहान हरेक रात पछाडि नै आउने हो भन्ने सकारात्मक दृष्टिसहित काम गर्न आवश्यक छ । लोकतन्त्रमा दलबिनाको कल्पना पनि गर्न सकिँदैन, त्यसैले अब दलहरूले सुध्रेर अगाडि बढ्नुको विकल्प छैन । आफ्नो असहमति स्वस्थ ढङ्गले राखौँ । दलभित्र ‘लोकतन्त्र’ स्थापना गरौँ । अब आफूभित्रका योग्य पुस्तालाई विश्वास गरौँ । हिजो जे भयो भयो इन्तु, किन्तु, परन्तु नभनी अब पार्टीभित्रै सबैले समान अवसरको गोरेटो बनाइदिऔँ । 

    निराशाको बीचमा आशाको खोजी
    परिवर्तन आम नेपालीको माग हो । कुनै पनि माध्यमबाट यो पोखिनेवाला थियो नै । त्यसका पछाडि थुप्रै कारण छन् । यसपटक ‘जेनजी’ आन्दोलनका नाममा परिवर्तनको चाहना पोखियो । सुशासन र भ्रष्टाचारविहीन शासन, पुरातनवादी सत्ता अभ्यासमा परिवर्तनको मागसहित उठेको यो आन्दोलनले दुई दिनमै कायापलटको अवस्था बनाइदियो । त्यही बीचमा यो तहको विध्वंसले कसरी स्थान पायो र त्यसको मक्सद के हो भन्नेबारे भविष्यमा पर्दा खुल्दै जालान्, खुल्नै पर्छ । तथापि, अब त्यसैका पछाडि लागेर निराशाको खाडल गहिरो बनाउन नलागौँ । अहिले सङ्कट छ, तर आशा पनि छ । हाम्रै विगत र हाम्रो जस्तै सङ्कट बेहोरेर उठेका विश्वका अन्य उदाहरणबाट पाठ सिक्दै सुन्दर भविष्य निर्माणमा जुट्नुको विकल्प हामीसँग छैन । यी तमाम अनुभवले एउटा कुरा देखाउँछ—सङ्कट स्थायी हुँदैन ।

    यो तहको विध्वंस नयाँ र अनपेक्षित भए पनि नेपालमा राजनीतिक आन्दोलनको कुरा नयाँ होइन । २००७ सालअघिको आन्दोलनले राणशासनको एक सय चार वर्षको इतिहास मेटायो । प्रजातन्त्रको विजारोपण भयो । २०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्था ल्यायो । निर्दलीय पञ्चायतलाई च्यूत गर्दै प्रजातन्त्र बहाली भयो । दश वर्ष लामो हिंसात्मक द्वन्द्वबाट बाहिर आयौँ । २०६२÷६३ सालको जनआन्दोलनले वंशवादमा आधारित दुई सय चालीस वर्ष लामो राजतन्त्रलाई बिदा ग¥यो, गणतन्त्र स्थापना भयो । हरेक निर्णायक मोडमा नेपाल ढलेको र जलेको मात्रै छैन । उठेको पनि छ, बनेको पनि छ । त्यसैले आजको ‘जेन जी’ आन्दोलनका क्रममा भएको विध्वंसको ‘अंश’ छुट्याउने हो भने यो नयाँ पुस्ताले समान न्याय, समान अवसर र उत्तरदायी शासन मागेका छन् । विध्वंसकै कुरामा रुमल्लिनुभन्दा यो आवाजको शङ्खनाद सुनौँ । समयमै सुनौँ । अब यसलाई अवसरका रुपमा लिऔँ, जसरी यस्तै सङ्कट आउँदा विश्वका अरु मुलुकले लिए । 

    धेरै विगतमा जाँदा दोस्रो विश्वयुद्धपछि पूर्णरूपमा ध्वस्त भएको जापान अनुशासन, नवप्रवर्तन र प्रविधिमा लगानी र स्पष्ट ‘भिजन’ लिएर अगाडि बढ्दा केही दशकमै विश्व आर्थिक शक्ति बन्यो । युद्धपछिको विनास र विभाजनपछि जर्मनी राजनीतिक सहमति र स्पष्ट पुनर्निर्माण योजनाका कारण फेरि युरोपको बलियो अर्थतन्त्र बन्यो । सन् १९९४ को नरसंहार (करिब १० लाख मानिस मारिएको भनिएको) पछि असम्भव जस्तो लाग्ने रुवाण्डामा पुनर्मिलन र सुशासन सम्भव भयो । युद्धपछि दक्षिण कोरिया (१९५०–५३) गरिब कृषिप्रधान देशबाट शिक्षा र औद्योगीकरणमा लगानी गर्दै लोकतान्त्रिक अभ्यासमार्फत केही दशकमै विश्वकै उच्च आय भएको राष्ट्र बन्यो । फेरि दक्षिण कोरियामै सन् १९६० को ‘अप्रिल रिभोलुसन’ भनेर चिनिने विद्यार्थी आन्दोलनले अधिनायकवादी शासनको ठाउँमा लोकतन्त्रको बाटो तय ग¥यो । 

    त्यस्तै ट्युनिसियामा सन् २०१०–११ मा युवाहरूले गरेको ‘अरब स्प्रिङ’ आन्दोलन लोकतान्त्रिक संरचनाको आधार तयार ग¥यो । ट्युनिसियामा २३ वर्ष शासन गरेका जिन एल आबेदिन बेन अलीयस सत्ता च्युत भए । यसको उभार इजिप्ट, लिबिया, सिरिया, यमन, बहरेनसम्म फैलियो । त्यसको परिणाम स्वरुपम इजिप्टमा ३० वर्ष एकछत्र शासन गरेका होस्नी मुबारक, लिबियामा मुअम्मर गद्दाफीको ४२ वर्ष लामो शासन अन्त्य भयो । सिरिया, एमन र बहराइनले समयको आवाज नसुन्दा अझै पनि त्यहाँ सङ्कट र अस्थिरताबाट पार पाउन सकिएको छैन ।   

    यी सबै उदाहरणले सम्हालिएर अगाडि बढेमा ध्वस्त भएको समाज पनि आशा र स्पष्ट रणनीति भयो भने चाँडै पुनः निर्माण हुन्छ र अझ सुखद समय आउँछ भन्ने देखाउँछन् । नेपालले पनि बारम्बार सङ्कटको सामना गरेको छ, तर हरेक पटक उठेका छौँ । यसर्थ, हरेक असहज परिस्थितिबाट उठ्ने क्षमता नेपाली समाजको मूल पहिचान हो । अहिले युवाहरूको भावनाअनुसार ‘सुशासन र भ्रष्टाचारविहीन’ समाज बनाउने हो भने यी भत्केका भवन चाँडै ठडिनेछन् । बिथोलिएको आत्मबल फेरि बलियो गरी उभिने छ । अब केवल सरकारको स्पष्ट दृष्टिकोण, इच्छाशक्ति र त्यसमा लामो अनुभव तथा योगदान भएका राजनीतिक दलले शान्तिपूर्ण सहजीकरण गर्न आवश्यक छ । आफ्ना असहमतिलाई शालीन र नवीन ढङ्गले मुखरित गर्दै ‘बडो जुक्तिले प्राप्त अवसर’ को सदुपयोग गर्नसके फेरि अवसरले पछ्याउने छन् । 

    निष्कर्षमा भन्नुपर्दा अहिले जलेका र ढलेका संरचना मात्रै नदेखौँ, हाम्रो अगाडि झल्झली उज्यालो दिने अवसरको दीपलाई पनि देखौँ । आक्रोश र असन्तोषको छाया मात्र नदेखौँ, उज्यालो भविष्यतर्फको सम्भावना पनि चिनौँ । नेपालका युवाले उठाएका आवाजलाई व्यवस्थापन गर्न संवाद र सहमतिको बाटो समातौँ । एकता, सहअस्थित्व, सामाजिक सहिष्णुता, अग्रगामी राजनीतिक चेत र सुशासनमा जोड दिएमा पुनर्जागरण सम्भव छ । पक्कै यो समय हटेर जानेछ किनकि सङ्कट अस्थायी हो, तर आशा स्थायी । यही आशाले नेपाललाई नयाँ बिहानतर्फ लैजानेछ ।