असोज २, २०८२ बिहिबार

सिरहा, २ असोजः ‘जेनजी’ प्रदर्शनपछि अस्तव्यस्त बनेको सिरहाको जनजीवन र सरकारी सेवा प्रणाली बिस्तारै लयमा फर्किंदैछ । 

    जिल्ला प्रशासन कार्यालयले गत भदौ २६ मा सबै कार्यालयलाई समन्वय गरी २९ गतेदेखि सेवा सुरु गर्न निर्देशन दिएको थियो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार बुधबारदेखि जिल्ला प्रशासन कार्यालयले पूर्ण सेवा सञ्चालनमा ल्याएको छ । 

    उहाँका अनुसार प्रहरीको अनुपस्थितिमा असुरक्षित महसुस गरेका स्थानीयवासीले नै प्रहरी युनिटको पुनःस्थापनामा सहयोग गरेका छन् । “आन्दोलनपछि अन्योल थियो, तर हामीसँग जे छ त्यसैबाट थालेर उठ्ने प्रयास ग¥यौँ । हाल अवस्था सामान्य हुँदै गएको छ र हामी पुरानै स्थितिमा फर्किन निरन्तर लागिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी वसन्तले भन्नुभयो । 

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार आन्दोलनमा क्षतिग्रस्त १४ मध्ये १२ प्रहरी युनिट पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी रहेका दुईवटा अस्थायी प्रहरी बिट पनि चाँडै पुनःस्थापना हुनेगरी काम भइरहेको छ । 

यहाँ जिल्लाका अन्य कार्यालयहरू पनि सेवा बिस्तार गर्दै लगेका छन् र जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किँदैछ । यहाँ आन्दोलनका कारण एकै दिनमा जिल्लामा करिब रु एक अर्बभन्दा बढीको क्षति भएको छ । । प्रदर्शनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण यहाँका निजी र प्रहरीसहित ५२ भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक तथ्याङ्क छ ।