काठमाडौँ, ३ असोजः संविधानविद् र अधिकारकर्मीहरुले नेपालको वर्तमान संविधानलाई समयानुकूल तुल्याउँदै रक्षा गर्नुपर्ने आजको मुख्य दायित्व रहेको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा राससले राखेको जिज्ञासामा उहाँहरुले यो संविधानको पूर्ण कार्यान्वयनले मुलुक र जनताको उन्नति र प्रगति हुने धारणा व्यक्त गर्नुभयो । उहाँहरुले वर्तमान संविधानको संशोधन र रक्षाबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्य निहित रहेकाले संविधान मुलुकका लागि बाधक नभई साधक भएकाले रक्षा गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो ।
विसं २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिँदै आइएको छ । संविधानका जानकारहरुले संविधानमा समयसापेक्ष संशोधन र सुधार गर्दै रक्षा गर्नुको विकल्प नभएको बताउनुभयो ।
डा विजय मिश्र
अध्यक्ष, नेपाल बार एसोसिएसन
संविधानलाई दीर्घ जीवन दिन समय–समयमा संशोधन गरिनुपर्छ । संशोधनका लागि इच्छाशक्ति आन्दोलनले पैदा गर्छ । बौद्धिक समाजको भेला र उपस्थितिले पनि संविधानलाई दीर्घ जीवन दिन आवश्यक खुराक प्रदान गर्छ । त्यसैले धेरै जटिल परिस्थितिलाई सामान गर्दै सङ्घर्ष गरेर बनाइएको संविधानलाई समय सुहाउँदो बनाउन संशोधन गरिनुपर्छ । त्यो गरेर सवै नागरिकको इच्छा यसैमार्फत पूरा गर्नुपर्छ । भ्रष्टाचार निर्मूल र सुशासन कायम गरिनुपर्छ ।
रामनारायण विडारी
संविधानविद्
नेपालको संविधान वास्तवमा विश्वकै उत्कृष्ट संविधानभित्रै पर्छ । तर व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मर्म र भावनाअनुरुप कार्यसम्पादन गरेनन् । संविधानको प्रभावकारी कार्यान्वयन नहुँदाको असर जनता निराश भए । अब यो संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्छ । यसमा भएका केही प्रावधानहरु न्यायिक, आर्थिक र राजनीतिकरुपले पनि सशोधन गर्नपर्नेछ । उदाहरणका लागि संवैधानिक परिषद्, न्यायपरिषद्, सवैधानिक इजलास, निर्वाचन प्रणाली, राज्यका संयन्त्रको सुदृढीकरण गर्नुपर्छ । राज्यको अनावश्यक खर्च जोगाउनुपर्छ । रोजगारी सृजना गर्नुपर्छ । संविधानलाई दोष नलगाइ समयसापेक्ष संशोधन गरी अघि बढनुपर्छ । त्यसका लागि पहिलो सर्त संविधानको रक्षा नै हो ।
कनकमणि दीक्षित
वरिष्ठ पत्रकार
नेपालको भविष्य उज्ज्वल बनाउन वर्तमान संविधानको रक्षा गर्ने प्रत्येक नागरिकको दायित्व हो । अहिले संविधानमा अलि कति धक्का लागेको छ । त्यसका बाबजुद अघि बढन सकिन्छ । निर्वाचन तोकिएको समयमा हुनैपर्छ । त्यसमा तलमाथि र बहाना गरिनुहुन्न, अन्यथा इतिहासले माफी दिन्न । लामो समय अस्थिरता भएमा नेपालमा विदेशी हस्तक्षेप बढछ । अहिले पनि संविधानवाद नेपालमा बाचेको छ । निर्वाचनमार्फत नयाँ संसद् गठन हुन्छ । अनि भविष्यको बाटोको यात्रा गर्ने हो । मुलुक सबैको खुशियाली र सुखको केन्द्र हुनुपर्छ ।
टीकाराम भट्टराई
वरिष्ठ अधिवक्ता
आज संविधान दिवस । यस संविधान दिवसले राखेका उद्देश्य असाध्यै राम्रा छन् । यो संविधानको पूर्ण कार्यान्वयन गर्ने हो भने जनता र देशको उन्नति र प्रगति हुने सम्भावनामा यसैभित्र छ । यद्यपि संविधान कार्यान्वयनमा सन्दर्भमा केही असन्तुष्टि देखिएका छन् । संविधानलाई संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमा नै सबै नेपाली जनताको भविष्य निहित भएकाले यसको रक्षा गर्नु आजको आवश्यकता हो । संविधानमा समयसापेक्ष संशोधन गरी नयाँ पुस्तालाई राजनीतिमा समाहित गर्ने बाटो प्रदान गर्दै राजनीतिकप्रति आकर्षण बनाइएको खण्डमा यो संविधान मुलुकका लागि बाधक होइन, साधक बन्नेमा मलाई पूर्ण विश्वास छ ।
अर्जनुबहादुर कार्की
अधिकारकर्मी
हामीले हजारौँ मानिसको बलिदानीबाट आजको संविधान प्राप्त गरेको हो । त्यसैले संविधानको भावना र मर्मलाई आत्मसात् गर्नुपर्छ । यसका लागि संविधानमा आवश्यक परिमार्जन र सुधार गर्न सकिन्छ । संविधानलाई सम्मान र पालना गर्न सकिएन भने मुलुक राजनीतिक दुर्घटनातिर उन्मुख हुन्छ । त्यसैले वर्तमान संविधानको रक्षा गरी समसामयिक सुधार गर्दै जानुको विकल्प छैन ।