असोज ३, २०८२ शुक्रबार

काठमाडौँ, ३ असोज: नेपाल कम्युनिष्ट पार्टी (एमाले) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बलिदानीबाट प्राप्त भएको संविधानलाई कमजोर बनाउन नदिइने बताउनुभएको छ । 

    एमाले केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संविधान मान्दैनौँ भन्दै विभिन्न गतिविधि हुनसक्ने भन्दै एमाले त्यसको रक्षाका लागि उभिने बताउनुभयो । “हामी जनताको बलिदानीबाट प्राप्त गरेको संविधानलाई कमजोर हुन दिने छैनौँ । यसलाई मास्न दिने छैनौँ । यो हाम्रो अठोट र सङ्कल्प हो”, वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।  

    उहाँले निर्वाचित घोषणा भइसकेकाले आफ्ना केही असहमतिका बीच पनि पार्टी निर्वाचनको पक्षमा रहेको बताउनुभयो । “हाम्रा आफ्नै कारणले पनि चुनौती देखिएका थिए । अरुले गर्दा पनि चुनौती देखिएका थिए । अब सबै चुनौतीको सामना गरेर अगाडि बढ्छौँ”, पोखरेलले भन्नुभयो । 

    कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र अघि नबढ्ने बताउनुभयो । उहाँले ‘जेनजी’ प्रदर्शनका नाममा राजनीतिक दलका कार्यालयमा गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको बताउनुभयो । 

    महासचिव पोखरेलले भदौ २४ गते सिंहदरबार लगायतका प्रशासनिक भवनमा गरिएको आक्रमण नेपालको पहिचानलाई समाप्त पार्ने षडयन्त्र भएको दाबी गर्दै राम्रो नीति र कार्यक्रम लिएर आउने दललाई संविधानले नरोकेकाले सोहीअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । “बलिदानपूर्ण योगदानबाट आएका राजनीतिक दललाई राजनीतिबाट निषेध गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन । नवयुवाको आन्दोलनका नाममा जुन प्रकारका उद्देश्य मिसाउन खोजियो ती लोकतन्त्रलाई कमजोर पार्ने क्रियाकलाप हुन् । राजनीतिक दललाई निषेध गरेर लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन”, उहाँले भन्नुभयो । 

    पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक सबजसोै शीर्ष नेताहरू सहभागी हुनुभएको थियो ।