लुम्बिनी, ३ असोजः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्ने बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा प्रदेश सरकाले आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित मूल समारोहमा युवा पुस्ताको चाहनाअनुरूप सरकारका काम थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढङ्गले अघि बढाइने बताउनुभयो । मुख्यमन्त्री आचार्यले लोकतान्त्रिक विधि र प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै सबैको साझा लक्ष्य हुनुपर्ने यही लक्ष्यले मुलुकलाई निकास दिने विश्वस्त व्यक्त गर्नुभयो ।
उहाँले सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको जरैदेखि अन्त्य गर्नु आजको आवश्यकता भएको बताउनुभयो । “संविधानले सामाजिक न्याय, समावेशिता, समानता, सहिष्णुता र सद्भावलाई संरक्षण गर्दै समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने सङ्कल्प बोकेको छ । प्रदेश सरकारले संविधान, दिगो विकासका लक्ष्य, अन्तरराष्ट्रिय प्रतिबद्धता तथा दोस्रो आवधिक योजनालाई आधार मान्दै नीतिगत, संरचनात्मक र कानुनी सुधारका कार्यलाई अगाडि बढाइरहेको छ । यसमा सबैको सहयोग आवश्यक छ”, मुख्यमन्त्री आचार्य भन्नुभयो ।
कार्यक्रममा प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले संविधानभित्रैबाट निकास खोजिनुपर्ने बताउनुभयो । “हाम्रो संविधान अब्बल छ हो । यहीभित्र बसेर युवा पुस्ताको सोचलाई सम्बोधन गर्दै अघि बढ्न सकिन्छ”, उहाँले भन्नुभयो “अहिले देखिएको विद्रोहको व्यवस्थापन पनि संविधानभित्रै गर्नुपर्छ । अब सबैले आत्मसमीक्षा गरेर कार्यशैली बदल्न सक्नुपर्छ । जनता असन्तुष्ट हुनेगरी काम गर्नु हुँदैन ।”
पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई अझ माटो सुहाउनेगरी परिमार्जन गरेर सबैका भावनालाई समेट्न आवश्यक रहेको बताउनुभयो । पूर्वमुख्यमन्त्री जोखबहादुर महराले सामाजिक परिवर्तनको नेतृत्व वर्तमान संविधानले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभाका विषयगत समितिका सभापति, प्रमुख सचेतक, सचेतक तथा सदस्यहरु, प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, स्काउट विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता रहेको थियो ।