असोज ३, २०८२ शुक्रबार

गण्डकी, ३ असोज : जनताको लामो त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त भएको अहिलेको संविधानको रक्षार्थ सबै एकजुट हुनुपर्नेमा जोड दिइएको छ । 

    संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज बागलुङमा आयोजित एक कार्यक्रमका वक्ताहरूले संविधानको प्रभावकारी कार्यान्वयनसँगै समयसापेक्ष पुनरावलोकन गर्नुपर्ने बताएका हुन् । 

    संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य चम्पादेवी खड्काले संविधानको रक्षा र सुदृढीकरणमा मुलुकका राजनीतिक दल, नागरिक समाजलगायतको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले ‘जेनजी’ आन्दोलनका क्रममा प्रकट भएको युवा पुस्ताको माग र चाहनालाई संवैधानिक र लोकतान्त्रिक विधिबाट सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । 

    संविधानसभा सदस्य नरबहादुर थापाले परी समयसोपक्ष रूपमा जनताको आवश्यकताअनुसार संविधानलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो । “जेनजी आन्दोलनले संविधानको पुनरावलोकनका बारेमा सोच्न बाध्य बनाएको छ, यसलाई गम्भीर रूपले मनन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “संविधान रहेन भने मुलुक अराजकतामा जान्छ, मुलुकको सार्वभौमसत्ता नै सङ्कटमा पर्छ, यसर्थ यसको रक्षा गर्नु हामी सबैको कर्तव्य र दायित्व हो ।”

    उहाँले संविधानभित्र रहेको अन्तर्वस्तु र मर्मलाई आत्मसात गर्दै जनतालाई महशुस हुने संविधान कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ छ । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले राजनीतिक दलसहित राज्य सञ्चालनको प्रमुख जिम्मेवारीमा रहेका पदाधिकारीहरूको व्यवहार र आचरणमा सुधार ल्याउनुपर्ने बताउनुभयो । 

    “हामीले गणतन्त्र ल्यायौँ, संविधान बनायौँ, तर हाम्रो आचरण र व्यवहार सुधार्न नसक्दा जनतालाई सुशासन दिन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “जतिसुकै राम्रो संविधान भए पनि त्यो व्यवहारमा लागू हुन सकेन भने त्यसले जनतामा निराशा बढाउँछ, अहिलेको जेनजी आन्दोलनमा पनि त्यहीँ कुराको अभिव्यक्ति भएको छ ।”

    प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले संविधान दिवस तथा राष्ट्रिय दिवसले सबै नेपालीलाई राष्ट्रिय एकता, सार्वभौमसत्ताको रक्षा र लोकतन्त्रका पक्षमा दृढ भएर उभिन प्रेरित गर्ने बताउनुभयो । उहाँले लोकतन्त्र र संविधानको जगेर्ना तथा सुदृढीकरणमा सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । 

    उच्च अदालत बार एकाइ, बागलुङका अध्यक्ष गीता श्रीसले सबै नेपाली नागरिक संविधानको रक्षक भएको बताउनुभयो । उहाँले दशकौँको प्रतीक्षापछि संविधानसभाबाट संविधान बनेको भन्दै उहाँले संविधानमा उल्लेख मौलिक हकको कार्यान्वयनमा जोड दिनुभयो । नागरिकको संवैधानिक हकको सुरक्षा गर्नु राज्यको दायित्व रहेको भन्दै अध्यक्ष श्रीसले संविधान विपरीतका क्रियाकलाप हुँदा सबैले खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो । 

    संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित उक्त कार्यक्रमका अवसरमा बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित सहिद स्मृति उद्यानमा रहेका सहिदका सालिकमा माल्यार्पण गरिएको थियो । यसअघि दिवसको अवसर पारेर बिहीबार धवलागिरि अस्पतालका बिरामीलाई फलफूल र धवलागिरि बहिरा आवसीय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरिएको थियो । 

    सोही अवसरमा कारागार कार्यालयमा रहेका कैदीबन्दी, मानवसेवा आश्रममा रहेकाहरूलाई खेलकुद, खाद्यान्नलगायत सामग्री हस्तान्तरण गरिएको दिवस मूल समारोह समितिले जनाएको छ । त्रिदिवसीय कार्यक्रमसहित संविधान दिवस मनाइएको हो ।