भैरहवा (रूपन्देही), ३ असोज : खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ । बिहीबार सिद्धार्थनगर नगरपालिका–९ गोनहियामा रहेको ड्याममा पौडी खेल्न गएका बालक डुब्नुभएका हुन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार सोही दिन अबेर खबर भएकोले उद्धार र खोजी कार्य सम्भव नभएको हुँदा शुक्रबार बिहानैदेखि खोजी सुरु गरिएको थियो ।
सुरुमा वडा प्रहरी कार्यालय भैरहवा र स्थानीयको संयुक्त टोलीले खोजी गरे बेपत्ता बालकको भेटिएनन् । पछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय २७ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक खड्क केसीको नेतृत्वमा खटिएको १० जनाको विपद् व्यवस्थापन टोलीले बालकलाई खोलाबाट मृत अवस्थामा फेला पारेको थियो ।
मृतक बालकको शवलाई परीक्षणको लागि भैरहवाको भीम अस्पतालमा पठाइ यसबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।