कर्णाली, ३ असोजः कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले संविधान र लोकतन्त्रको रक्षा गर्दै समृद्ध मुलुक निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध बन्न आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘संविधान दिवस तथा राष्ट्रिय दिव–२०८२ मूल समारोह’मा उहाँले संविधानको पालना गर्दै लोकतन्त्रको रक्षाका लागि सबैको समन्वय र सहकार्य आवश्यक पर्ने बताउनुभयो ।
जेनजी प्रदर्शनका क्रममा उठाइएका सवालहरू राष्ट्रको समृद्धि र उन्नतिका लागि भएको बताउँदै प्रदेश प्रमुख जोशीले प्रदर्शनको नाममा फाइदा उठाउन खोज्नेहरू सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुक यतिबेला राजनीतिक सङ्कटमा छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संरक्षण गर्दै जनताको पक्षमा काम गर्न सबै लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता छ । यसमा कोही कसैलाई आग्रह–पूर्वाग्रह नराखी राष्ट्र निर्र्माणको अभियानमा जुट्न म अनुरोध गर्दछु ।”
प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी प्रदर्शनले उठान गरेका मुद्दा भ्रष्टाचार अन्त्य र सुशासन कायमका लागि भएको बताउँदै भदौ २४ गतेको आगजनी, तोडफोड, चोरी, लुटपाटलगायत घटना निन्दनीय भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी मनाउँदै गरेको संविधान दिवस अहिले अर्धमृत अवस्थामा छ । संविधान र हाम्रा प्राप्त उपलब्धिहरू गुम्ने खतरामा छन् । यसको संरक्षणका लागि सबै एकजुट हुनुको विकल्प छैन ।”
प्रदेशसभाका सभामुख नन्दा गुरुङले समावेशी चरित्र बोकेर सामाजिक न्यायका पक्षमा आएको वर्तमान संविधानको रइााका लागि सबै लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो । संविधान र सङ्घीयताले सदियौँदेखि पछि परेका महिला, दलित, आदिवासी, सीमान्तकृत, अल्पसङ्ख्यक र पिछडिएका वर्ग, जाति, भाषा, धर्म मान्ने यहाँका नागरिकलाई न्याय गरेको उहाँको भनाइ छ ।
नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले वर्तमान संविधानको रक्षा गर्दै मुलुकमा भष्टाचार अन्त्यका लागि सबै एकजुट भएर परिवर्तनका पक्षमा काम गर्नुपर्ने बताउनुभयो । “वर्तमान संविधानका कारण आज मुलुकमा आउनसक्ने खतरा टरेको छ”, उहाँले भन्नुभयो, “जेनजी प्रदर्शनपछि आएको परिवर्तनले मुलुकलाई सकरात्मक मार्गमा डोहो¥याउन सहयोग पुग्ने अपेक्षा गरौँ ।”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्ण जिसीले जेनजी प्रदर्शनले मुलुकको नीति र नेतृत्व दुवै सुध्रिनुपर्ने सन्देश दिएको बताउनुभयो । जनताको शक्तिका अगाडि कुनै पनि बादशाहले घुँडा टेक्नुपर्ने टिप्पणी गर्दै उहाँले सुशासन, भ्रष्टाचारमुक्त देश र जनहितमा काम गर्ने नेतृत्व जन्माउन जेनजी प्रदर्शले बाटो देखाएको उहाँको भनाइ छ ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव, सुरक्षा निकायका प्रमुख, मानवअधिकार आयोगका प्रमुख, नागरिक समाजका अगुवा तथा पत्रकार एवं सञ्चारकर्मीहरूको उपस्थिति थियो ।