असोज ५, २०८२ आइतबार

सुशीला रेग्मी

रामपुर (पाल्पा), ५ असोजः युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा परिवर्तनको लहर झल्किएको छ ।
 
कुनै समय विद्यार्थी नियमित रूपमा विद्यालय नआउने, बिनापोशाक विद्यालय आउने, गृहकार्य नियमित नगर्ने, पढाइमा चासो नदिने, अभिभावकले पनि आफ्ना सन्तानले विद्यालयमा कस्तो पढिरहेका छन् भन्नेबारे बेवास्ता गर्ने गरेका थिए । शिक्षक नियमित रूपमा विद्यालय नआउने, आए पनि विद्यालय समयमा नबस्नेजस्ता समस्याले विद्यालयको शैक्षिक तथा भौतिक वातावरण अपेक्षाकृत रूपमा फेरिएको थिएन । 

शैक्षिक क्षेत्रमा युवा नेतृत्व आएपछि पछिल्ला वर्षमा भने धेरै परिवर्तनका लहर आएका छन् । यसको ज्वलन्त उदाहरण हुन् रामपुर नगरपालिकाका शैक्षिक संस्था । यहाँका शैक्षिक संस्थामा युवा नेतृत्वले धेरै सुधार हुँदै आएको छ । 

रामपुर आधारभूत विद्यालयमा तीन वर्षअघि विद्यार्थी सङ्ख्या न्यून थियो । विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल पथ्र्यो । कुनै समय यो अत्यधिक विद्यार्थी पढ्ने विद्यालयको अग्रपङ्क्तिमै पर्दथ्यो । समयानुकुल शैक्षिक गतिविधि अगाडि बढाउन नसक्दा बीचमा विद्यार्थी सङ्ख्या घटदै गयो ।

युवा नेतृत्वको कुशल जिम्मेवारीले अहिले विद्यालयको अवस्था बदलिएको छ । तीन वर्षअघि ८७ विद्यार्थी रहेको यो विद्यालय अहिले दोब्बर बढी छन् । यहाँ हाल दुई सय दुई विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा विद्यार्थी सङ्ख्या मात्र फेरिएको होइन, भौतिक संरचना, विद्यालयको पूरै वातावरण नै नयाँ स्वरुपको बनेको छ । 

“युवाको गहन र कुशल जिम्मेवारीले विद्यालय फेरिने रहेछ”, प्रधानाध्यापक विजय शर्माले भन्नुभयो । प्राथमिक तहमा स्थायी दरबन्दीमा नियुक्ति लिएपश्चात २०७९ चैत २० गते रामपुर आधारभूत विद्यालयमा पदस्थापन हुनुभएका प्रअ शर्माले तीन वर्षमै यसलाई नमूना विद्यालय बनाउन सफल हुनुभएको छ । 

प्रअ शर्माले यो विद्यालयमा नियुक्ति लिँदा ८७ विद्यार्थी अध्ययनरत थिए । अहिले दुई सय दुई विद्यार्थी अध्ययनरत छन् । विसं २०६५ देखि बृहस्पति आधारभूत विद्यालय निस्दी गाउँपालिका–५ गल्धाबाट शिक्षण पेसा सुरु गर्नुभएका शर्माले विद्यालय सुधार गर्ने अठोट लिएर स्थायी नियुक्तिपश्चात रामपुर आधारभूत विद्यालय आएको बताउनुभयो ।

“विद्यार्थी सङ्ख्या न्यून, समयमा विद्यार्थी तथा शिक्षक विद्यालयमा उपस्थित नहुने, चुहिने कक्षाकोठा, खानेपानी, शौचालय समस्या, अव्यवस्थित विद्युत्जस्ता विविध समस्यासँग कछुवा गतिमा चलिरहेको विद्यालय सुधार गर्न सुरुमा कठिन थियो”, उहाँले भन्नुभयो, “अभिभावक पनि नयाँ शैक्षिकसत्र सुरु भएपछि अन्यत्र आफ्ना बालबालिका विद्यालय भर्ना गर्न लैजाने तयारीमा हुनुहुन्थ्यो भने शिक्षक, कर्मचारीमा शिक्षण पेसाप्रति उत्साह थिएन, तर मैले हिम्मत गरेर विद्यालय सुधार्नुपर्छ भनेर लागेपछि अहिले हेर्नलायकको विद्यालय बनेको छ ।”

समयमा विद्यालय नआउने विद्यार्थी तथा शिक्षक हिजोआज भने समयअगावै आउने गरेका छन् । पहिला शैक्षिक सामग्री र फर्निचर अभाव थियो । अहिले उक्त समस्या छैन । निजी स्रोतमा कार्यरत शिक्षकको हरेक वर्ष तलब वृद्धि, विद्यार्थी सङ्ख्या बढेपछि दरबन्दी थप, आधुनिक शिक्षण पद्धतिको व्यवस्था, अनुशासन, समयपालना र मेहनतका कारण विद्यालयले आफ्नो पहिचान फरक बनाउन सफल भएको प्रअ शर्मा बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “सुरुआतमा विद्यालयमा हाजिरी भएपश्चात यहाँको गतिविधि बुझ्दा सुधार गर्न सकिएलाजस्तो थिएन, विद्यार्थीले नियमित पोशाक नलगाउने, समयमा उपस्थित नहुने, केही शिक्षक त विद्यालयले बनाएको नियम पालना गर्न नसकेर विद्यालय छाडेर पनि जानुभयो, विद्यालय सुधार गरेर विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिनेमा म दृढ सङ्कल्प लिएर अघि बढेको छु, अहिले शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी तथा समुदायको राम्रो साथ पाएको हुँदा काम गर्न सहज वातावरण बनेको छ ।”

विद्यालयमा २०७८ सालमा ८६, २०७९ सालमा ८७, २०८० सालमा एक सय ४६, २०८१ सालमा एक सय ७६ र २०८२ सालमा दुई सय दुई विद्यार्थी अध्ययनरत रहेका शिक्षक तुलसी गौतमले जानकारी दिनुभयो । पछिल्ला तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको छ । चालु शैक्षिकसत्रमा २६ विद्यार्थी थपिएका छन् । 

नर्सरीदेखि ८ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालय अहिले रामपुरकै नमूना र उत्कृष्ट बनेको छ । विद्यालयको वातावरण राम्रो हुँदै गएपछि बोर्डिङ स्कुल छाडेर उक्त विद्यालयमा पढ्न थालेका अभिभावक सङ्गीता काफ्लेले बताउनुभयो । उहाँका दुई छोराछोरी यही विद्यालयमा पढ्छन् । बेलाबेलामा विद्यालयले अभिभावकलाई बोलाएर आफ्ना छोराछोरीको प्रगतिबारे जानकारी लिन तथा रायसल्लाह सुझाव दिन लगाउँछन् । यसबाट अभिभावकको विद्यालयप्रतिको माया बढ्ने उहाँको भनाइ छ ।

“निजी विद्यालयमा महँगो शुल्क तिरेर पढाउनुभन्दा सरकारी विद्यालयमा कम शुल्कमा राम्रो पढाइ भएपछि बोर्डिङबाट छुटाएर यहाँ ल्याएको छु, अब बोर्डिङ स्कुलमा पढाउनुपर्ने अवस्था छैन, सबै सुविधा सरकारी स्कुलमा नै पाइने रहेछ”, अभिभावक काफ्लेले भन्नुभयो । 

गृहकार्यमा सुधार, विद्यार्थी नियमित विद्यालय आउने वातावरण तयार, बिहानदेखि साँझसम्म विद्यालय खुला र पालो गरेर शिक्षकले विद्यालयको रेखदेख गर्ने व्यवस्था, प्रत्येक विद्यार्थीको व्यक्तिगत अभिलेख राख्ने, प्रत्येक कक्षाकोठामा ‘बुक कर्नर’को व्यवस्था, प्रत्येक कक्षाकोठाको अगाडि डिस्प्ले बोर्ड, मासिक रूपमा आन्तरिक परीक्षा लिइने, प्रत्येक दिन शिक्षकले विद्यार्थीलाई स्वागत गर्ने, योगध्यान साधनाको निरन्तर अभ्यास, रामपुर नगरमै नयाँ विषयका रूपमा संस्कारसहितको शिक्षा सुरु गरिएपछि विद्यार्थी तथा अभिभावकको रोजाइमा विद्यालय परेको छ ।
 
यस शैक्षिकसत्रदेखि संस्कारसहितको शिक्षा नामक विषय समावेश गरी पठनपाठन सुरु गरेको शिक्षक चम्पा गौतमले बताउनुभयो । पाठमा समावेश विभिन्न समुदायका चाडपर्व, संस्कार, संस्कृति, रीतिरिवाज, वेशभूषा, आदर सत्कार, अनुशासन, नैतिक आचरण, दैनिक गर्नुपर्ने क्रियाकलापजस्ता विषय पढाउने गरेको उहाँ बताउनुहुन्छ ।

“विद्यार्थीले पाठ सुरु गर्नुपूर्व संस्कार, संस्कृतिसँग जोडिएका विभिन्न श्लोक तथा पाठ वाचन गर्छन्, कक्षाकोठामा विषय नै समावेश गरी पढाउन थालेपछि विद्यार्थीको आनीबानीमा धेरै परिवर्तन आएको छ”, उहाँले भन्नुभयो ।

आन्तरिक परीक्षाका लागि बाहिरका पालिकाबाट तयार पारिएका प्रश्नपत्रबाट परीक्षा लिइने, नतिजामा सुधार, कमजोर विद्यार्थीलाई सुधारका लागि छुट्टै शिक्षकको व्यवस्था, मासिक रूपमा शिक्षक, कर्मचारीको अनिवार्य बैठक, कक्षाअनुसार हरेक महिना अभिभावक भेला तथा विभिन्न तहमा शिक्षकलाई जिम्मेवारी दिएर शिक्षणकार्य सञ्चालन भइरहेको छ ।

विद्यालयको शैक्षिकस्तर उकासिँदै जाँदा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी यस विद्यालयमा भर्ना भई अध्ययन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । युवा नेतृत्वले संस्था कसरी बन्छ भन्ने उदाहरण आफ्नै विद्यालयले प्रस्तुत गरेको उहाँ बताउनुहुन्छ । 

“शैक्षिकस्तर सुधार गर्न समितिले प्रधानाध्यापक, शिक्षक, कर्मचारीलाई कुनै अप्ठ्यारो स्थिति सृजना गरेको छैन, यसमा समितिले सहजीकरण गर्दै आइरहेको छ, विद्यालय सुधार गर्न कुशल प्रशासनिक अनुभव भएको प्रअ चाहिने रहेछ”, अध्यक्ष गौतमले भन्नुभयो ।

हाल विद्यालयमा स्थायी दरबन्दीमा चार, निमावि राहत दरबन्दीमा एक, प्रावि राहत दरबन्दीमा दुई, बालविकास राहत दरबन्दीमा एक, शिक्षण निमावि अनुदानमा एक, निजी स्रोतबाट सात, कार्यालय सहयोगी राहत दरबन्दी एक गरी जम्मा १७ शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीमध्ये दुई जनाबाहेक सबै महिला छन् ।

करिव १२ रोपनी क्षेत्रफल विद्यालयको नाममा रहेको छ । चारैतिर पक्की घेराबार गरिएको पाँचवटा भवनमा १२ शैक्षिक प्रयोजनका लागि कक्षा सञ्चालन भइरहेको छ । विसं २०४६ मा कक्षा १ देखि ३ सम्म स्थापना भएको विद्यालयमा हाल कक्षासम्म पठनपाठन भइरहेको छ । विद्यार्थीका लागि छात्रावास र शिक्षकका लागि आवाससहितको सुविधायुक्त भवन निर्माण गर्ने, करेसाबारी र फूलबारी, कृषि उत्पादनका लागि विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गर्ने, इन्टरनेटको प्रयोग गरी स्मार्टबोर्ड र प्रोजेक्टरबाट कक्षा सञ्चालन गर्ने, खेलमैदानको उपयुक्त व्यवस्थापन गर्ने, योग ध्यान, साधना र खेलकुदलाई जोड दिने विद्यालयको लक्ष्य छ ।

यस्तै रामपुरकै अर्को नमूना विद्यालय हो, बेलघारी प्राथमिक विद्यालय । रामपुर नरपालिका–१ क्वाङक्वाङमा यो विद्यालय पनि युवाकै नेतृत्वमा चलेको छ । युवा प्रधानाध्यापक छापबहादुर थापाले विद्यालयको नेतृत्व गरिरहनुभएको छ । युवा नेतृत्वपश्चात विद्यालयले मुहार फेर्दै गएको छ । 

पहिला यस विद्यालयमा नियमित रूपमा विद्यार्थी आउँदैनथे । अभिभावकले पनि विद्यालयप्रति चासो देखाउँदैनथे । हिजोआज भने युवाको नेतृत्वले विद्यार्थी नियमित आउने र विद्यालयप्रति अभिभावकले चासो देखाउने, सल्लाह सुझाव दिने गरेको प्रधानाध्यापक थापाले बताउनुभयो । 

“हरेक संस्थामा युवा नेतृत्वलाई जिम्मेवारी दिइयो भने काम गर्न सजिलो हुन्छ, युवा ऊर्जावान भएकाले नेतृत्व उनीहरुलाई नै दिनुपर्छ”, प्रअ थापाले भन्नुभयो । कक्षा ५ सम्म पठनपाठन हुने यस विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ । हाल विद्यालयमा ४७ विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालय २०२२ सालमा स्थापना भएको हो । 

रामपुर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा युवा नेतृत्वले शैक्षिक क्षेत्रमा सुधार आएको नगर शिक्षा अधिकृत विकल काफ्ले बताउनुहुन्छ । “युवा नेतृत्वमा चलेका विद्यालयको वातावरण नै बदलिएको छ, हिजो विद्यार्थी सङ्ख्या न्यून भएर गाभिन लागेका, शैक्षिक तथा भौतिक क्षेत्रमा पछाडि परेका विद्यालय अहिले नमूना विद्यालय बनाउन सफल भएको देख्दा खुसी लागेको छ”, उहाँले भन्नुभयो ।