म्याग्दी, ५ असोजः बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयवासीका लागि आम्दानीको स्रोत बनेको छ । दसैँतिहारअघि ग्रामीण क्षेत्रका ढुङ्घेघरलाई लिपपोत गरेर रङ्ग्याउन रत्नेचौरको रातोमाटो प्रयोग हुन्छ । सालघारीको पाखोमा रातोमाटोको खानी छ । म्याग्दी, पर्वत र बागलुङका ग्रामीण क्षेत्रमा घर रङ्ग्याउन आवश्यक रातोमाटो सालघारीको खानीबाट लैजाने गर्छन् ।
यसपालि हालसम्म २१ ट्रयाक्टर रातोमाटो बिक्री भइसकेको रत्नेचौरका स्थानीयवासीसमेत रहनुभएका व्यवसायी एकिन्द्र महतले बताउनुभयो । “खानी भएको जग्गाका धनीले प्रतिबोरा रु एक सयका दरले माटो बेच्छन्”, उहाँले भन्नुभयो, “ट्रयाक्टरमा राखेर गाउँगाउँमा पु¥याएर न्यूनतम प्रतिबोरा रु पाँच सयका दरले बिक्री हुन्छ ।”
एक दशकअघिसम्म दसैँतिहारको सिजनमा रातोमाटो लिनका लागि सालघारीमा आउने सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो । हाल व्यापारीले गाडी र ट्रयाक्टरमा ढुवानी गरेर रातोमाटो घरघरमा पुर्याउने गरेका छन् । वार्षिक ३० ट्रयाक्टरभन्दा बढी रातोमाटो बिक्री हुने व्यवसायी व्यवसायी महतले बताउनुभयो ।
खानीबाट बोरामा भरेको माटो ट्रयाक्टरमा राखेर गाउँगाउँमा लगेर बेच्ने गरेको मङ्गला गाउँपालिका–२ बाबियाचौरबाट माटो किन्नका लागि सालघारी पुगेका सागर सुनारले बताउनुभयो । सफा र चम्किलो हुने भएकाले रत्नेचौरको रातोमाटोको माग उच्च रहेको उहाँले बताउनुभयो । स्थानीयवासीले माटो बिक्रीका साथै माटो खन्ने काम गरेर पनि आम्दानी तथा रोजगारी पाएका छन् । बेनी, बागलुङ, कुश्मा नगरपालिका, जलजला, काठेखोला, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा रत्नेचौरको रातोमाटो खपत हुन्छ ।
सालघारीकी जुना किसानले यसपालि मल्लाजका व्यापारीलाई रु २० हजारमा बारीको रातोमाटो ठेक्कामा बेचेको बताउनुभयो । माटो निकालेपछि सम्मिने पाखोमा बारी बनाएर खेतीबाली लगाउने गरेको उहाँले बताउनुभयो । घडेरी सम्याउनका लागि निस्किएको माटो प्रतिट्रयाक्टर रु आठ हजारमा बिक्री गरेको स्थानीय भगवती विश्वकर्माले बताउनुभयो । सालघारीबाट वार्षिक रु तीन लाखको हाराहारीमा रातोमाटो बिक्री हुने गरेको स्थानीयवासीको भनाइ छ ।
पक्की घर बनाउने, रङ र गेरु लगाउने चलन बढेपछि ग्रामीण क्षेत्रका ढुङ्गे घरमा रातोमाटो र कमेरो लगाएर रङ्ग्याउने चलन छ । दसैँअघि घरको सरसफाइ गर्ने, रातोमाटो र कमेरोले लिपपोत गर्ने चलन अझै छ । रातोमाटोले लिपपोत गरेका ढुङ्गेघर चिटिक्क र आकर्षक देखिन्छन् ।
रातोमाटो पाइने भएकाले यो ठाउँको नाम रत्नेचौर नामकरण भएको बताइएको छ । रातोमाटो निकाल्दा खाल्डोमा पुरिने, पहिरो खस्ने जोखिम हुने भएकाले सावधानी अपनाउनुपर्छ । विपद् र दुर्घटनाको जोखिम न्यूनीकरण गरी रातोमाटोलाई प्रशोधन र प्याकेजिङ गरेर बजारीकरण गर्न सकिने सम्भावना छ ।