रसुवा, ५ असोजः गत असार २४ र साउन १४ गते ल्हेन्देखोलामा आएको बाढीका कारण क्षति पु¥याएको स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत गरिएको छ । सडक विभागले टिमुरेको तातोपानी डाँडादेखि रसुवागढीसम्म र बाँकी रसुवागढी जलविद्युत् आयोजनाले संयुक्त रूपमा सहयोग गरेका थिए ।
टिमुरेभन्दा माथि पहरो कटिङ गर्न नसक्दा भोटेकोसी खोलाको नजिकबाट यातायात आवतजावत खुलाइएको छ । खोलामा पानीको बहाव नबढुञ्जेलसम्म मात्र हिउँद यामभरका लागि यातायात सञ्चालनमा सहज हुने जनाइएको छ ।
यसैबीच गोसाइँकुण्ड गाउँपालिका–३ स्थित कुलुङ स्थित ठाडोखोलामा रहेको पक्की पुलको पर्खालका जग जोखिम भएको छ । निरन्तरको वर्षाले कुलुङखोलामा पानीको बहाव बढ्न गई पुलको पूरै जग जोखिममा रहेको बताइएको छ । जोखिम हटाउन थालिएको गल्छी–मैलुङ–रसुवागढी राजमार्ग सुधार आयोजनाका इञ्जिनियर कुमारविक्रम पराजुलीले जानकारी दिनुभयो ।
उहाँले पुलबाट नियमित यात्रुबाहक बस र हल्का सवारीसाधन मात्र खुला गरी मालबाहक सवारीसाधन आवतजावत रोक लगाएको जानकारी दिनुभयो ।
गत असार २४ गते ल्हेन्दे खोलाले बगाएको नेपाल–चीन बीचको मितेरीपुल पुनःनिर्माणअन्तर्गत चिनियाँ पक्षले बेलीब्रिज जडान कार्य जारी राखेको छ । बाढीका कारण मितेरी पुल बगाउँदा भन्सारबाट साढे सात अर्ब रुपैयाँभन्दा बढी कर शुल्कबापतको राजस्व नोक्सान भइसकेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । सडक खुला भए पनि पुल जोखिम भएका कारण बाढीग्रस्त रसुवागढी जलविद्युत् आयोजनाको बाँध पुनःनिर्माण अगाडि बढाउन अन्योल परेको छ ।
सडककै कारण बाढीले क्षति पुर्याएको विद्युत् ड्याम मर्मतका लागि रड, सिमेन्टलगायत निर्माण सामग्री र उपकरण ढुवानी गर्न नसक्दा आयोजनाले रु एक करोड २७ लाख ८७ हजार घाटा व्यहोर्नु परिरहेको रसुवागढी जलविद्युत्का प्रबन्ध निर्देशक सत्यराम ज्याख्वले बताउनुभयो । भूमिगत संरचनाको आयोजना भएका कारण भित्री भाग सुरक्षित रहे पनि ड्याम क्षेत्रको बाहिरी संरचना क्षति भएको आयोजनाका प्राविधिकहरूले जनाएका छन् ।