असोज १३, २०८२ सोमबार

अर्घाखाँची १३ असोज :   अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप  ( फोर्स गाडी ) दुर्घटना हुँदा  दुई जनाको मृत्युु भएको छ भने २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२४  को  सो जीप  आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा  दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख  दिवस जिसीले जानकारी दिनुभयो ।  उहाँका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

 मृत्यु हुनेमा  गुल्मी मदाने गाउँपालिका.–६ पुर्कोटका  १० वर्षीय  अरुणा थापा र   मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताउनुभयो । घाइतेको अर्घाखाँची  अस्पतालमा उपचार भैरहेको छ । एकजना  घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।