असोज १४, २०८२ मंगलबार

कञ्चनपुर, १४ असोजः कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा आज बोलेरो जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

     जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दैजी–जोगबुढा सडकखण्डमा दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से१ज ४१७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब २० मिटर तल खसेको थियो । 

    दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका–४ की करिब दुई वर्षीया बालिका युबिका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक बोहराले बताउनुभयो । अन्य घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

     घाइते हुनेमा कृष्णपुर–१ वाणीकी ३३ वर्षीया धना बोहरा र उहाँका चार वर्षीय छोरा कमल बोहरा,  बेदकोट–४ की ३० वर्षीया तारा पाल, उहाँका १० वर्षीय छोरा प्रिन्स पाल र स्थानीय ३५ वर्षीया देविन्द्र धामी घाइते भएका छन् । यस्तै, डडेल्धुराको परशुराम नगरपालिका–११ का २४ वर्षीय वीरेन्द्र कुँवर, उहाँकी २१ वर्षीया पत्नी मनिषा कुँवर र सोही नगरपालिकाका २८ वर्षीय नरेश सार्की घाइते हुनुभएको छ । 

    दुर्घटनापछि चालक  फरार रहेका छन् । जीपमा चालकसहित १० जना सवार रहेका थिए ।