असोज १५, २०८२ बुधबार

गण्डकी, १४ असोजः शनिबार आयो कि कुटोकोदालो, गैँती, बेल्चा बोकेर ‘हाम्रो टिम गलकोट’का सदस्य गाउँटोल र सार्वजनिकस्थलको सरसफाइमा जुटछन् । वातावरणीय स्वच्छतासँगै सरसफाइप्रति सचेतना अभिवृद्धिका लागि सुरु गरिएको उक्त अभियानले १६औँ हप्ता पार गरिसकेको छ । गत असारको पहिलो शनिबार गलकोट नगरपालिका–३ र ६ जोड्ने गौँदीखोला पुल सरसफाइ गरी अभियान सुरु गरिएको थियो । 

    त्यसता ‘हाम्रो टिम गलकोट’ले हरेक शनिबार सडक, पुल, नाला, चौतारा, धारा, विद्यालय, मन्दिरलगायत सार्वजनिकस्थलको सरसफाइ गर्दै आएको छ । उक्त टिममा आबद्ध स्वयंसेवी युवा, समाजसेवी, पेसाकर्मी आदि मिलेर गलकोट नगरपालिकाभित्र साप्ताहिक सरसफाइ अभियान सञ्चालन गरिएको स्थानीय अगुवा कृष्णबहादुर थापाले बताउनुभयो । 

    पछिल्लो हप्ता गलकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरको सरसफाइ गरिएको थियो । सरसफाइ अभियानमा स्थानीय जनप्रतिनिधि, सामुदायिक संस्था, प्रहरीलगायतले पनि सघाउँदै आएका छन् । 

    अभियानका संयोजक दीपक शर्मा पौडेलले गलकोट–३, ५ र ७ को संगमस्थलमा रहेको दरमखोला पुल, गलकोट–२ नरेठाँटीको पुल, गलकोट–३ रजराको ऐतिहासिक चौतारो, गलकोट–६ स्थित नगरपालिका कार्यालय जोड्ने सडक र नालीलगायतका सरसफाइ गरिएको बताउनुभयो । 

    गलकोटमा पर्ने मध्यपहाडी लोकमार्गअन्तर्गतका यात्रु प्रतिक्षालय, गलकोट–९ को लक्ष्मीनारायण मन्दिर, गलकोट–५ टेउवा अवस्थित अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला सङ्ग्रहालय, गलकोट माध्यमिक विद्यालय आदिको पनि सरसफाइ गरिएको उहाँको भनाइ छ । गलकोटलाई वातावरणीय स्वच्छतायुक्त नगरका रुपमा विकास गर्न सरसफाइ अभियानमा सबै जुट्नुपर्ने संयोजक शर्माले बताउनुभयो । 

    अभियानकै क्रममा अन्तर्राष्ट्रिय रेडक्रस दिवस र संविधान दिवस पारेर गलकोट विभिन्न सार्वजनिकस्थलमा वृक्षारोपणसमेत गरिएको थियो । “निर्माण भएको वर्षौँ बित्दासमेत नियमित मर्मत र सरसफाइ नहुँदा मुख्य सडक र पुलमा कुरुप बनेका थिए, पुल छेउछाउ झाडीले ढाकिएको थियो”, संयोजक शर्माले भन्नुभयो “सरसफाइ गरेपछि नाली बुझिने, पुलमा पानी र हिलो जम्ने समस्या पनि हटेको छ ।” सरसफाइ अभियान आगामी दिनमा पनि नियमित रुपमा सञ्चालन हुने उहाँले बताउनुभयो ।

    सुरुमा पाँच जनाबाट सुरु भएको उक्त अभियानमा अहिले झण्डै ५० जना आबद्ध भएका छन् । हरेक शनिबार बिहानको समयमा सरसफाइ अभियान सञ्चालन हुने गरेको छ । सरसफाइप्रति समुदायस्तरमा जनचतेना अभिवृद्धिका लागि उक्त अभियान महत्वपूर्ण रहेको संयोजक शर्माले बताउनुभयो । “सरसफाइ र पर्यावरण संरक्षणमा जनसहभागिता जुटाउने र सरसफाइ जागरण फैलाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “पछिल्लो समय सहभागिता पनि बढ्दै गएको छ ।”